Thursday, 13, August, 2020 info@saipalnews.com

वीरगञ्जका उद्योगमा भेटिए भारतीय कामदार

वीरगञ्ज ११ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जका विभिन्न उद्योगको अनुगमन गरेको छ । लकडाउन खुकुलो गरेसँगै खुलेका उद्योग कलकारखानामा भारतीय कामदार आएको गुनासो पछि आइतबार अनुमगमन गरिएको हो ।खुल्ला सीमाका कारण लुकिछिपी नेपाल प्रवेश गरेका भारतीय नागरिकले नै वीरगञ्जमा कोरोना फैलाइरहेको आरोप कतिपयले लगाइरहेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत नेतृत्वको टोलीले दुई उद्योगको अनुमगमन गरेको थियो । बस्नेत नेतृत्वको टोलीले जगदम्बा इन्टरप्राइजेज र नारायणी स्टिल उद्योगमा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका जीतबहादुर भण्डारी सहितको टोली पनि अनुगमनमा छ ।जगदम्बा इन्टरप्राइजेजका सीइओलाई नै केही दिनअघि कोराना संक्रमण पुष्टि भएको छ । हार्ट सर्जरी गरेको उनी नारायणी अस्पताल अन्र्तगतको गण्डक कोरोना अस्पतालको आईसीयूमा उपचाररत छन् ।

वीरगञ्ज–२१ लिपनीविर्तामा विश्वकर्मा सिमेन्ट, श्री सिमेन्ट, इन्टरनेशनल सिमेन्ट प्रालिमा टोलीले अनुगमन गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेले प्रशासनको निर्देशन अनुसार तीन वटा उद्योगको अनुगमन गरेर आवश्यक कागजात ल्याइएको बताए ।

‘उद्योगको दर्ता नवीकरणको अवस्था बुझ्यौं, स्वास्थ्य सुरक्षा सतकर्ता ठीकठीकै अपनाएको पाइयो । कर्मचारी विवरण लिएका छौं’ उनले भने ‘ तीन वटै कम्पनीमा भारतीय कामदार रहेको पाइएको छ । विवरण र कागजपत्र प्रशासनमा बुझाएका छौं ।सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले ५० वटा उद्योगको कर्मचारी विवरण माग गरेर अनुसन्धान गर्ने तयारी गरिएको बताए ।

‘उद्योग प्रतिष्ठानमा भारतीय कामदार आएको र उनीहरुबाटै कोरोना संक्रमण फैलिएको गुनासो आइरहेको छ । उद्योग प्रतिष्ठानमा कति कर्मचारी छन्, भारतबाट कति ल्याइएको छ अनुगमन गरिरहेका छौं ।’ उनले भने ‘उद्योगमा वदमासी भएको पाइए कारबाही गर्ने रणनीति हामीले लिएका छौं । उद्योग प्रतिष्ठानले पीसीआर विधिबाट परीक्षण गराउँदा सशुल्क गराउनुपर्ने र संक्रमित भेटिए आइसोलेटेड गर्ने व्यवस्था पनि उद्योगमै मिलाउनुपर्ने नीति लिने प्रशासनले जनाएको छ ।