Wednesday, 22, September, 2021 info@saipalnews.com

गिरीलाई निष्कासन गर्ने निर्णय रोक्न सर्वोच्च अदालतले गर्यो यस कारण अस्वीकार

काठमाडौं ११ साउन । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीको सदस्यता र संसद्बाट सरिता गिरीलाई निष्कासन गर्ने निर्णय रोक्न अस्वीकार गरेको छ । न्यायाधीशहरु ईश्वर खतिवडा र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आज गिरीलाई निष्कासन गर्ने पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णयानुसार पदबाट हटाइएको हुँदा पार्टीको निर्णय रोक्न नसक्ने आदेश जारी गरेको हो ।

गिरीले आफूलाई पार्टीको सदस्यताबाट र सांसद पदबाट निष्कासन गर्ने निर्णय रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । आदेशमा राजनीतिक दलको निर्णय र पत्रका आधारमा नेपालको संविधान धारा, ८९ तथा राजनीतिक दलसम्बन्धी ऐनको दफा, ३२ बमोजिम पदमुक्त गर्ने गरी निर्णय भएको देखिएको उल्लेख छ ।

आदेशमा भनिएको छ, यसरी भएको निर्णय तथा काम कारवाही रोक्ने गरी राजनीतिक दलको तथा संसद्को काम कारवाहीको विषयलाई लिएर अन्तरिम आदेश जारी गर्नु मनासिव देखिएन ।

नेपालको भूभाग लिपुलेक, कालापानी, लिम्पियाधुरा भूभाग समेटेर नक्सा जारी गर्ने विषयमा संशोधन हालेपछि विवादमा पर्नुभएकी गिरीले गत असार २८ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । दुवै पक्षको छलफलपछि आज अदालतले  अन्तरिम आदेश जारी गर्न नपरेको जनाएको हो ।