Thursday, 13, August, 2020 info@saipalnews.com

काठमाडौं जिल्ला प्रशासनबाट अब ‘क्षेत्रगत आलोपालो सेवा’

काठमाडौं १४ साउन । कोरोना संक्रमणको जोखिम कम गर्न काठमाडौं महानगरपालिकाले अब ‘आलोपालो सेवा’ दिने भएको छ । जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिका र जिल्लाका १० वटा नगरपालिकाका सेवाग्राहीलाई तोकिएको बारमा मात्रै सेवा दिने निर्णय गरेको छ । सामाजिक भौतिक दूरी कायम गर्न र स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गर्न यस्तो निर्णय गरिएको  जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले जानकारी दिए ।

मन्त्रिपरिषद्को साउन ५ मा भएको निर्णय र उपत्यकाका तिनवटा जिल्लाको संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार प्रशासनले साउन १८ बाट आलोपालो सेवा सूरु गर्न लागेको हो ।नागरिकता, नावालिक परिचयपत्र राहदानी र हतियार दर्ता गर्न चाहने काठमाडौं महानगरपालिकाका सेवाग्राहीलाई आईतबार, मंगलबार र बिहिबार मात्रै सेवा दिइने छ । नागरिकता, राहदानी र नावालिक परिचयपत्र सम्बन्धी कामका लागी कीर्तिपुर, नागार्जुन र चन्द्रागिरीका बासिन्दालाई सोमबार तोकिएको छ ।

बुधवार बुढानिलकण्ठ, टोखा र कागेश्वरी मनहरा नगरपालिकाका सेवाग्राहीले मात्रै नागरिकता र राहदानी सम्बन्धी सेवा पाउनेछन् । शुक्रवार गोकर्णेश्वर, दक्षिणकाली, शंकरापुर र तारकेश्वर नगरपालिका बासिन्दाले सेवा पाउनेछन् ।लकडाउनले रोकिएको सेवा लिन सवैजना उकैपटक आउँदा भिड बढेको भन्दै काठमाडौं प्रशासनले तोकिएको बार मात्र सिफारिस पठाउन वडा अध्यक्षहरुलाई पत्राचार गरेको छ । शान्तिसुरक्षा र कानुन बमोजिम हुने मुद्धामामिलाका काम भने सवैदिन सुचारु रहने सहायक प्रजिअ पौडेलले बताए ।