Thursday, 13, August, 2020 info@saipalnews.com

समुदायमा कोरोना देखिएपछि नेपालगन्जमा लाग्यो निषेधाज्ञा

बाँके १५ साउन,। समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि बाँकेको नेपालगन्जमा  तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।पछिल्लो पटक रेन्डम सेम्पलिङ्ग गरी पीसीआर परीक्षण गर्दा ट्राभल हिष्ट्रि नभएका व्यक्तिमा समेत कोरोना पोजेटिभ देखिएपछि आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

नेपालगन्जमा बिहीबार बसेको बाँके जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले आइतबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।‘शुक्रबार र शनिबार उच्च सतर्कता अपनाउँदै पहिलो चरणमा आइतबारदेखि तीन दिनसम्म नेपालगन्जका सबै वडामा तीन दिनसम्म पूर्णरुपमा कफ्र्यू (निषेधाज्ञा लगाउने निर्णय भएको छ,’ प्रजिअ कुरुम्बाङले भने, ‘त्यतिन्जेलको अवस्था हेरेर त्यसपछि के गर्ने अर्को निर्णय गर्छौं ।

नेपालगन्जमा बिहीबार बिहान मात्रै २७ जनामा कोरोना पुष्टि भएको थियो । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा नेपालगन्जका २० जना र बाहिर जिल्लाबाट आएर बसेका ७ जना सरकारी कर्मचारीमा कोरोना पुष्टि भएको हो ।बाहिर जिल्लाका ७ जनासहित आन्तरिक राजश्व कार्यालय नेपालगन्जका ११ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार क्वारेन्टाइनमा नरहेका विद्यार्थी र कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

बाँकेमा क्वारेन्टिनमा बसेकामा कोरोना संक्रमण घटिरहेका बेला समुदायमा रेन्डम स्याम्पलिङ्गबाट परीक्षण गर्दा पुनः कोरोना पाजेटिभ देखिंदा जोखिम बढेका प्रजिअ कुरुम्बाङले बताए ।सरकारी कर्मचारीहरुमा कोरोना देखिएपनि उनीहरुलाई कोबाट सर्‍यो भन्ने एकिन हुन सकेको छैन ।कर्मचारीलाई सेवा दिँदा कोरोना लागेको हुनसक्ने सम्भावना रहेपनि कोबाट कसरी सर्‍यो भन्ने यकिन नहुँदा समुदायमा कोरोना फैलिएको आशंकालाई बल पुगेको छ ।

यसअघि पनि आन्तरिक राजश्व कार्यालय र यातायात कार्यालय नेपालगन्जका कर्मचारीमा कोरोना पुष्टि भएको थियो । त्रिभुवन चोकमा गरिएको रेन्डम सेम्पलिङमा पनि मिठाई पसले र आन्तरिक राजश्वका एक अधिकृतलाई कोरोना लागेको पुष्टि भएको थियो ।सरकारले लकडाउन अन्त्य गरेको अवस्थामा बजारमा रहेको चहलपहल, सुरक्षा मापदण्डमा गरिएको लापरबाहीले थप जोखिम निम्त्याएको सरकारी अधिकारीहरु नै स्वीकार गर्छन् ।