Saturday, 15, August, 2020 info@saipalnews.com

ओलीलाई प्रचण्डको प्रस्तावः निकास दिने तत्परतासहित छलफल गरौं

काठमाडौं १६ साउन। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामू निकास दिने तत्परतासहित गम्भीर छलफलमा बस्न प्रस्ताव राखेका छन् ।मंगलबार बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि प्रचण्डको अध्यक्षमा बहुमत स्थायी कमिटीको बैठक बसेको थियो र, यसरी बैठक स्थगित गर्नु अनुचित भएको ठहर गरेको थियो ।

साथै पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखेर ओलीसँग छलफल गरी बैठक सुचारु गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो । तर दुई अध्यक्षबीच सम्वाद भएको छैन ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले बिहीबार महासचिव विष्णु पौडेललाई बोलाएर कुराकानी गरेका थिए ।  प्रचण्डले महासचिव पौडेललाई निकास दिने तत्परतासहित गम्भीर छलफलका लागि पहल गर्न आग्रह गरेका छन् ।

‘म केही पनि गर्दिनँ, पार्टी र सरकार यसरी नै चल्छ भन्ने ठाउँबाट निकास दिन अर्का अध्यक्ष केपी ओली तयार हुनुपर्छ’ प्रचण्डले महासचिव पौडेललाई भनेको थिए, ‘त्यस अनुसार भेटघाट र छलफलका लागि समय मिलाउनुस् ।प्रचण्ड महासचिव पौडेलको जवाफको पर्खाइमा रहेको उनी निकट एक नेताले बताएका छन् ।