Wednesday, 19, January, 2022 info@saipalnews.com

ओली–प्रचण्डबीच तीन घण्टा वार्ता, तर पनि स्थायी कमिटी अनिश्चित

काठमाडौं १८ साउन । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार करिव तीन घण्टा छलफल भएको छ ।साउन १३ को ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगन र प्रचण्डले आफ्नो अध्यक्षमा बहुमत सदस्यहरुसहित बैठक राखेपछि टुटेको सम्वाद आइतबार पुनः सुरु भएको छ ।

छलफलका लागि प्रचण्ड वरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुगेका थिए भने ओलीले संसदीय दलका उपनेता सुवास नेम्वालाई सहभागी गराए ।वार्तामा दुवै अध्यक्ष आ(आफ्ना अडानमा कायमै रहेकाले ठोस सहमति नभएको स्रोतले जनाएको छ । प्रचण्डले स्वच्छाले दुई मध्ये एक पद छाडेर निकास दिन आग्रह गरेका थिए । तर ओलीले ठाडै अस्वीकार गरेका छन् । र, नेताहरु सोमबार पुनः छलफलमा बस्ने गरी उठेका छन् ।

बालुवाटार वार्तामा सहभागी नेम्वाङ्गले भने सम्वाद सकारात्मक रहेको बताएका छन् । ‘दुई अध्यक्षबीच समझदारी बनाएर निकास खोज्नुपर्छ भन्नेमा उहाँहरु सहमत हुनुहुन्छ’ उनले भने, ‘भोलि एउटा निष्कर्षमा पुग्छ भन्ने आशा पलाएको छ ।’

आआफ्नो समूहमा ब्रिफिङ

बालुवाटार वार्तापछि ओली र प्रचण्डले आअफ्नो समूहका नेताहरुलाई ब्रिफिङ गरेका छन् । ओलीले बालुवाटारमा महासचिव विष्णु पौडेलसहितका नेताहरुसँग छलफल गरेका छन् भने प्रचण्डले सचिवालयका तीन नेता खना, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठसँग परामर्श गरेका थिए ।

प्रचण्डले नेताहरुलाई ब्रिफिङ गरेअनुसार सम्वाद सुरु हुन बाहेक थप केही भएको छैन ।ओली सचिवालय बैठक राखेर त्यही सहमति खोज्ने पक्षमा छन् भने प्रचण्डले स्थायी कमिटी चलिरहेका बेला सचिवालयबाट निर्णय हुन नसक्ने बताए । एक नेता भन्छन्, ‘स्थायी कमिटीलाई सहजीकरण गर्न सचिवालय बस्नसक्छ र हामी तयार पनि छौं । तर केन्द्रीय र स्थायी कमिटी नबस्ने गरी सचिवालय हुन्न ।

कतिपय नेताहरुले भने उपाध्यक्ष बामदेव गौतम आफूतिर आएपछि ओलीले सचिवालयलाई सहज देखेको हुनसक्ने बताएका छन् । ९ सदस्यीय सचिवालयमा अहिले दुबैतिर चारचार जना देखिएका छन् र गृहमन्त्री रामबहादुर थापा बादललाई दुबै समूहले आफूतिर भएको दाबी गर्न थालेका छन् ।