Thursday, 23, September, 2021 info@saipalnews.com

नेपालको पूर्ण नक्सा अंग्रेजी संस्करणमा पनि, परराष्ट्र मन्त्रालयमार्फत् संयुक्त राष्ट्रसंघमा पठाइने तयारी

काठमाडौं ३० साउन । नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक अ्रंग्रेजी संस्करणको नक्सा सरकारले स्वीकृत गरेको छ । आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा स्वीकृत गर्नुभएको हो ।नापी विभागले तयार गरी नाप नक्सा समितिमा निर्णय गरी स्वीकृतिका लागि मन्त्रालयमा पेश गरेको थियो ।

विभिन्न कारणले छुटाइएको लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको भूभाग समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक ९राजनीतिक र प्रशासनिक० नक्सा प्रकाशन गरी राजपत्रमा समेत प्रकाशित गरेको थियो ।

सोही नक्साको अंग्रेजी संस्करणको नक्सा नापी विभागले प्रकाशन गरेको हो । नेपालको अद्यावधिक नक्सा जारी भएसँगै संयुक्त राष्ट्रसंघमा जानकारी गराउन सरकारले अंग्रेजी संस्करणको नक्सा जारी गरेको हो ।

अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र संघ, कुटनीतिक नियोगहरु, समग्र अन्तराष्ट्रिय जगतमा पठाउनका निम्ति बाटो खुलेको छ । अंग्रेजी संस्करणको नक्सा परराष्ट्र मन्त्रालयमार्फत पठाइने नापी विभागले जनाएको छ ।

गत जेठ ५ गते बसेको मन्त्रिपरिषदको बैठकले नयाँ नक्सा जारी गर्न स्वीकृति प्रदान गरेसँगै मन्त्रालयले जेठ ७ गते नयाँ नक्सा जारी गरेको थियो भने सरकारले संविधान संशोधन गरेर नेपालको निशान छाप समेत परिवर्तन गरेको थियो ।