Thursday, 23, September, 2021 info@saipalnews.com

सामाजिक सञ्जालमा ह्यासट्याग जस्टिस फर निर्मला पन्त भाइरल, हत्यारा खै सरकार !

दाङ ३२ साउन | २०७५ साल साउन १० गते कञ्चनपुरमा एक विभत्स घटना भयो । १३ वर्षे किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भयो । तर, आज घटना भइसकेको दुई वर्ष बितिसक्दा पनि न त घटनाको दोषी पहिचान हुन सकेको छ न त पीडितले न्याय नै पाउन सकेका छन् । प्रहरीले घटनाको अनुसन्धान जारी नै रहेको बताइरहे पनि घटनाको अनुसन्धानमा प्रहरीले उल्लेख्य रुपमा यसरी घटना भएको हो र दोषी यी हुन् भनी यकिन किटान गर्न सकेको छैन ।

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा त्यतिबेला प्रहरीले अनुसन्धानमा जालझेल गरेको र प्रमाण लुकाउन खोजेको भन्दै जनस्तरबाट अत्याधिक विरोध भएको थियो । तर दुई वर्षसम्म पनि यस प्रकरणमा प्रहरीले ठोस सफलता प्राप्त गर्न नसकेपछि फेरी एकपल्ट सामाजिक सञ्जाल तातेको छ ।

निर्मलाका निम्ति न्यायका लागि सामाजिक सञ्जाल फेसबुकमार्फत ह्यासट्याग जस्टिस फर निर्मला पन्त (#justiceforNirmalaPanta) भन्ने ट्रेन्ड चलिरहेको छ । हिजोदेखि सुरु भएको उक्त टे«न्ड अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यो ट्रेन्ड अन्तर्गत युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारीक फेसबुक पेजमा रहेको प्रोफाइल फोटोमा १ लाख ९५ हजार ५ सय भन्दा बढी कमेन्ट गरिएका छन् भने नेपाल प्रहरीको आधिकारीक फेसबुक पेजमा रेहेको प्रोफाइल फोटोमा ह्यासट्याग जस्टिस फर निर्मला लेखेर कमेन्ट गर्नेहरुको संख्या २० हजार नाघेको छ

। यस्तै, युवाहरुले यो ट्रेन्ड पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा र सञ्चारमाध्यमहरुका पेजमा पनि चलाइरहेका छन् ।यो अभियानले सफलता पाउला या नपाउला त्यो भविष्यले बताउला, तर यो अभियानले एउटा सकरात्मक अभियानको पाटो भने देखाएको छ ।