Friday, 28, January, 2022 info@saipalnews.com

चुरेक्षेत्रमा पहिरोले ३५ परिवार विस्थापित

डडेल्धुरा २ भदौ । आलिताल गाउँपालिकाको चुरे क्षेत्रमा पहिरो खस्दा करिब ३५ परिवार विस्थापित भएका छन । वडा नं। ७ को बलौच, कोईराली, खिन्नेभाडी र वबाच गाउँमा पहिरो जाँदा उक्त परिवार विस्था‍पित भएका हुन् । अहिले पनि पहिरो खसिरहेको छ । अन्य बस्तीमा पनि पहिरोको जोखिम रहेको छ ।

गाउँलेहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको वडा अध्यक्ष वीरबहादुर बोहराले बताए । तर स्थानीय सुरक्षित स्थानमा जान मानिरहेका छैनन् । अन्नबाली, पशुचौपायलगायतका मालसामान गाउँ घरमै रहेको बताउँदै सुरक्षित स्थानमा जान नमानी रहेको वडा अध्यक्षले जानकारी दिए ।

सरकारले केही न केही गर्नुपर्छ । विद्यालयमा गएर के गर्ने । के खाने । अहिले त बाँचुला पछि के खाने के लागाउने भनेर स्थानीय सुरक्षित स्थानमा जान नमानी रहेको अध्यक्षको भनाछ छ । अहिले उनीहरुको जीउधनको सुरक्षाका लागि अन्यन्त्र सार्ने जोहो भइरहेको अध्यक्ष बोहराले बताए ।

पहिरोले अहिलेसम्म तीनवटा घर पुरेको छ । केही घरका दिवाल भत्केका छन्। बस्तीका घरहरु धरापमा रहेको स्थानीयले बताए । स्थानीय गाउँपालिकाका प्राविधिक टोलीलाई खटाइ जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानतिर सार्न पहल  लागि पठाइएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले बताए । आफूहरु पनि ती गाउँहरुमा आवश्यक राहात र औषधि बोकेर जाने तयारि गरिरहेको प्रजिअ वास्तोलाले बताए ।

गाउँको माथि र तलबाट पहिरो खस्ने क्रम जारी छ । गाउँमाथिको पहाड पुरै चर्किएको जानकारी दिए । ज्वालमुखी गएको जस्तो गरी बलौचको पहाड चर्किएको वडा अध्यक्ष बोहराले बताए ।अन्य स्थान तथा जिल्लाबाट राहात सामग्री लगेर जान पनि समस्या छ । दुर्गम बस्ती भएका कारण पैदल २ घण्टा लाग्छ। कच्ची बाटो पहिरोको कारण अवरुद्ध  छ ।

लगातारको वर्षापछि गत साउन १८ गते देखि नै यी बस्तीमा पहिरो खस्न सुरु भएको थियो । दशकअघि पनि यी स्थानमा पहिरो गएको वडा अध्यक्षले जानकारी दिए ।केही गाउँलेलाई विद्यालय र बाल विकास केन्द्रमा सारिएको छ । नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले करिब एक दर्जन बढी त्रिपाल उपलब्ध गराएको छ । सोमबार करिब दुई घण्टा हिँडेर केही त्रिपाल पुर्‍याउन सकिएको रेडक्रसकर्मीले जानकारी दिए ।

बलौचका बस्तीलाई नजिगडाको सरस्वती प्रावि, वबाचिकालाई बालविकास केन्द्र र सामुदायिक भवन बलौच र खिन्नेभाडीका बस्तीलाई नारीमा रहेका भवनमा सार्न थालिएको छ।गाउँपालिका स्तरामा पनि बैठक बसी मुचुल्का उठाइ सहयोगका लागि प्रदेश र संघीय सरकारलाई गुहार गर्ने निर्णय भएको आलिताल गाउँपालिकाले जनाएको छ । जोखिममा रहेका बस्तीको उद्धार र राहातका लागि सबैको सहयोग चहिने गाउँपालिकाले जनाएको छ। साभार अन्नपुर्ण