Wednesday, 22, September, 2021 info@saipalnews.com

आकस्मिक रुपमा बसेको सीसीएमसी बैठकको आगामी रणनीति के ?

काठमाडौँ २ भदौ । देशभरी कोरोना भाइरस कोभिड—१९ को संक्रमण बढ्दै गएपछि कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसीले आगामी रणनीतिको विषयमा छलफल गरेको छ । मंगलबार मात्रै १ हजार १६ जनामा संक्रमण देखिएपछि आकस्मिक रुपमा बसेको सीसीएमसी बैठकले आगामी रणनीतिको विषयमा छलफल गरेको हो ।

उपत्यका लगायत देशभरी नै संक्रमणको दर बढेपछि आगामी रणनीति के हुने भन्ने विषयमा छलफल भएपनि कुनै निर्णय भने नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए ।

बैठकमा विगतमा सरकारले गरेका निर्णय र ती निर्णयहरुको प्रभावकारिताका विषयमा छलफल भएको उनले बताए । संक्रमणको दर बढ्दै गएपनि आगामी रणनीति के हुने भन्ने विषयमा फरक फरक धारणा आएकाले बुधबार पुनः बैठक बसी थप छलफल गरिने उनले बताए ।

सरकारले संक्रमणको अवस्था विश्लेषण गरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लामा आंशिक वा पूर्ण रुपमा निषेधाज्ञा गर्ने अधिकार दिएकाले त्यस सम्बन्धि निर्णय पनि सम्बन्धि जिल्ला अधिकारीहरुले गर्ने उनले बताए ।

अहिलेसम्म देशका विभिन्न ४१ जिल्लामा पूर्ण वा आंशिक रुपमा निषेधाज्ञा जारी भएको उल्लेख गर्दै उनले उपत्यकाका हकमा के गर्ने भन्ने विषयमा सीसीएमसी बैठकमा छलफल नभएको बताए । निषेधाज्ञा जारी गर्ने÷नगर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीहरुले अधिकार प्राप्त गरेकाले सम्बन्धि क्षेत्रको अवस्थाको विषयमा विश्लेषण गरी निर्णय पनि प्रमुख जिल्ला अधिकारीले नै गर्ने उनले बताए । साभार रातोपाटी