Thursday, 27, January, 2022 info@saipalnews.com

ईश्वर पोखरेल र योगेश भट्टराईबीच चर्काचर्की

काठमाडौं ३ भदौ । तीनदिनअघि दुबईबाट नेपाल आउने तयारीमा रहेका २३० जना नेपाली नागरिक लिन गएको नेपाल एयरलाइन्सको विमान रित्तै फर्कियो । कारण थियो जहाज नेपालबाट दुबई प्रस्थान गरेपछि कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले अन्तिम समयमा विदेशबाट नेपाली ल्याएर राख्न नसकिने निर्णय गर्नु ।

केहीदिनअघि मन्त्रिपरिषदले गरेको निर्णय विपरीत केन्द्रले यस्तो निर्णय गरेपछि जहाज रित्तो फर्किनुपरेको थियो । यसै विषयलाई लिएर कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक ईश्वर पोखरेल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईबीच बैठकमै चर्काचर्की परेको छ । स्रोतका अनुसार मंगलबार बसेको केन्द्रको बैठकमा संयुक्त अरब ईमिरेट्स युएईमा उद्धारका लागि गएको नेपाल एअरलाइन्सको जहाज रित्तै फर्काएपछि भट्टराई पोखरेलसँग क्रुद्ध हुन पुगेका हुन् ।

“उद्धार उडान भरेको विमान रित्तै फर्काइन्छ । विमानस्थलमा विमान अवतरण गरेपछि विभागीय मन्त्रीले थाहा पाउँछ,” पर्यटनमन्त्री भट्टराईको भनाइ उद्धृत गर्दै एकमन्त्रीले  भने, “किन फर्काएको भनेर सोध्दा सीसीएमसीले उद्धार रोकेको भन्ने जवाफ आउँछ । सीसीएमसीले गरेको निर्णय सीसीएमसीकै सदस्यलाई थाहा हुनुपर्दैन रु”

भट्टराई जङ्गिएपछि पोखरेल मौन बसेका थिए । स्रोतका अनुसार होटल र क्वारेन्टिनको प्रबन्ध राम्रो नभएको भन्दै केन्द्रका संयोजक पोखरेलले उद्धार उडान नभर्ने निर्णय गरेका थिए ।  निजी कम्पनीमा यात्रु ल्याउन नेपाल एअरलाइन्सको विमान रित्तै फर्काएको पर्यटन मन्त्रालय स्रोतको भनाइ छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईले जानकारीअनुसार सरकारले निर्णय गरेर नल्याउने भनेकाले दुबई गएको जहाज रित्तै फर्किएको थियो । “सरकारले निर्णय नै नल्याउने गरेको छ । नियमित उडान जस्तो पनि होइन । चार्टर उडानबाट ल्याउने कि नल्याउने सरकारको निर्णय अनुसार अगाडि बढ्ने हो । त्यहीअनुसार निर्णय भएको हो ।”

तर, हतारमा निर्णय गरेकाले एयरपोर्ट पुगिसकेका नेपालीले त दुःख पाए नि रु भन्ने बाह्रखरीको प्रश्नमा उनले भने, “त्यो विषयमा सीसीएमसीलाई नै सोध्नू ।” कति नेपाली दुबई विमानस्थलमा आएर फर्किएका थिए भने कतिलाई अन्तिम समयमा उडान रद्ध भएकाले नआउन भनिएको थियो । अघिल्लो साता सोमबारको मन्त्रिपरिषद् बैठकले भने भदौ १ देखि सञ्चालन गर्ने भनेको नियमित हवाई सेवा रोक्दै दैनिक पाँचसय संख्या नबढाई विदेशबाट उद्धार गर्ने निर्णय गरेको थियो ।

दुबईबाट नेपाली श्रमिकलाई ल्याउन नदिएको सरकारले इस्तानबुलबाट टर्किस विमानबाट भने यात्रु ल्याउन दिएको छ ।  नेपाली श्रमिक लिन दुबई गएको नेपाल एयरलाइन्सलाई यात्रु नलिई आउन निर्देश गरेको सीसीएमसीले मंगलबार नै टर्किस एयरलाइन्सलाई भने यात्रुको अनुमति दिएको खुलेको छ । सीसीएमसीको अनुमतिबाटै टर्किसले सोही दिन २०१ यात्रु ल्याएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले टर्किसलाई यात्रु ल्याउने अनुमति भएकाले उसले यात्रु ल्याएको बताए ।  उक्त विमानले २ सय १ जना यात्रु ल्याएको थियो । “वायुसेवा निगमलाई यात्रु ल्याउन अनुमति सीसीएमसीले दिएको थिएन, ल्याउन पाएन । टर्किस्लाई अनुमति दिएको थियो, ल्यायो,” उनले भने ।साभार बाह्रखरी