Saturday, 18, September, 2021 info@saipalnews.com

मन्त्रीपरिषदको बैठक: कच्चा पदार्थ बोकेका ढुवानी साधन चल्न दिइने निर्णय

काठमाडौं ४ भदौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएका बेला उद्योग कलकारखानाका लागि कच्चा पदार्थ बोकेका ट्रक लगायतका ढुवानीका साधनलाई सञ्चालन गर्न दिने निर्णय भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बसेको बैठकमा कोरोना रोकथामका लागि गठिन कोरोना संकट व्यवस्थापन केन्द्र सिसिएमीले तयार गरेको प्रस्तावित निर्णयहरुमाथि छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

उनले भने–‘कोरोना रोकथामका लागि सिसिएमसीले ल्याएको प्रस्तावित निर्णयमा विभिन्न विषय उठाइएको छ, त्यसमा परिमार्जनका लागि सबै मन्त्रीहरुले प्रस्ताव राख्नुभएको छ । मन्त्रीहरुले राखेका कुराहरु समावेश गरेर प्रधानमन्त्रीलाई बुझाउने र त्यसपछि निर्णय गर्ने भन्ने कुरा भएको छ ।

धेरै नेपाली बाहिरबाट ल्याउनुपर्ने भएको र त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल भएको उनले बताए । यस्तै नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीहरुलाई नेपाल आउन र संबन्धित देशमा सहज ढंगले आवत जावतको व्यवस्था गर्ने निर्णय भएको छ ।

विदेशबाट नेपाली ल्याउने बारेमा अघिल्लो मन्त्रीपरिषदको बैठकमा मन्त्रीहरु बीच तर्क बिर्तक भएपनि विवाद नरहेको उनको भनाइ छ । यस्तै कोरोना भाइरस रोकथामक लागि कोरोना संक्रमित क्षेत्रमा जिल्ला प्रशासन कार्यालय मार्फत निषेधाज्ञा जारी गर्ने अघिल्लो मन्त्रीपरिषदको निर्णयलाई निरन्तरता दिने र यसको प्रभावकारीताबारे छलफल भएको छ । यस्तै बैठकमा बाढी पहिरो प्रभावितको अवस्था, राहत वितरणको अवस्थाका बारेमा प्रधानमन्त्रीले चासो राखेका थिए ।