Saturday, 18, September, 2021 info@saipalnews.com

गाउँपालिकाविरुद्ध सूचना आयोगमा पुनरावेदन

बैतडी ५ भदौ । नेपाली काँग्रेस पञ्चेश्वर गाउँपालिका समितिले गत साउन ११ गते ‘गाउँपालिकामा विभिन्न शीर्षकमा गरेको खर्चको विवरण’ सम्बन्धी सूचना माग गरेको छ  ।  विभिन्न शीर्षकमा गरिएको खर्चको विवरणसहित २१ बुँदे माग गरिएको सूचना नपाएपछि समितिले गाउँपालिकाविरुद्ध आवश्यक कारवाही र माग गरेको सूचना उपलब्ध गराउनुपर्ने भन्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीमार्फत शुक्रबार सूचनाको माग गर्दै गाउँपालिकाविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन पठाइएको नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य रमेश भण्डारीले जानकारी दिनुभयो ।

गत साउन ११ गते विभिन्न २१ बुँदे माग सहित गाउँपालिकामा निवेदन दर्ता गराएर सूचनाको माग गरिएको भएपनि सूचना प्राप्त नभएकाले जिल्ला प्रशासन कार्यालय र हुलाकमार्फत राष्ट्रिय सूचना आयोगमा पुनरावेदन निवेदन पठाएको नेपाली काँग्रेस पञ्चेश्वर गाउँपालिका सभापति रामबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘हामीले गाउँपालिकासँग सूचनाको हक प्रयोग गरेर सूचना मागेका थियौं । गाउँपालिकाले सूचना उपलब्ध नगराएपछि राष्ट्रिय सूचना आयोगलाई गुहारेका हौं ।’

सात दिनभित्र सूचना दिनुपर्ने भन्दै समितिले साउन ११ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र समेत बुझाएको थियो । गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसागर शाहलाई विपक्षी बनाएर राष्ट्रिय सूचना आयोगमा पुनरावेदन निवेदन पठाइएको हो । काँग्रेसले विभिन्न शीर्षकमा गरेको खर्चका विषयमा गाउँपालिकासँग सूचना माग गरेको थियो ।

सूचनाको हक सम्बन्धि ऐन प्रयोग गरेर सूचना माग्दा समेत नपाइएकाले आयोगमा पुनरावेदन दिएको भण्डारीले जानकारी दिनुभयो ।लकडाउनका बेला वितरण गरेको राहतको विवरण, पञ्चेश्वर गाउँपालिकाद्वारा निर्माण गरिएका विभिन्न सडक र स्वास्थ्य क्षेत्रमा गरेको खर्च विवरण माग गरिएको बताइएको छ ।