Wednesday, 22, September, 2021 info@saipalnews.com

उपत्यकामा भदौ १५ गतेसम्म निषेधाज्ञा जारी रहने

काठमाडौं ८ भदौ । उपत्यका नगरपालिका मेयर फोरमले  काठमाडौं उपत्यकामा भदौ १५ गतेसम्म निषेधाज्ञा थप्न सिफारिस गरेको छ। कोरोनाको संक्रमणको दर बढेको भन्दै सोमबार बसेको बैठकले उपत्यकाका तीन वटै जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधि भदौ १५ गतेसम्म बढाउन आग्रह गर्ने निर्णय भएको हो।बैठकले उपत्यकाका स्थानीय तहबाट प्रवाहित हुँदै आएका सेवाहमध्ये अत्यावश्यकबाहेकका सेवालाई भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ।

‘उपत्यकाका स्थानीय तहबाट प्रवाहित हुँदै आएका सेवामध्ये अत्यावश्यकबाहेकका सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकोमा पुनः भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेका छौँ,’ उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने, ‘उपत्यकाका तीन वटै जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधि पनि भदौ १५ गतेसम्म बढाउन हामीले आग्रह गरेका छौँ।

उनले निषेधाज्ञाको अवधि भित्रै कन्ट्रयाक्ट ट्रेसिङको काम सम्पन्न गर्ने गरी काम अघि बढेको जानकारी दिए। ‘स्वास्थ्य मन्त्रालयले १८ वटा पालिकालाई भोलिबाटै १८ जना फोकल पर्सन तोक्ने प्रतिबद्धता व्यक्त गरेको छ,’ उनले भने, ‘हामी उहाँहरुसँग सहकार्य गरेर भोलिबाटै फिल्डमा जान्छौँ।’

२८ हजार पाँच सयको कन्ट्राक्ट ट्रेसिङ गरिनेकोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै तत्कालै कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको उपत्यका नगरपालिका फोरमका अध्यक्षसमेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामी उपत्यकाका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङको दायरामा परेका नागरिकको टेस्टिङ गर्छौँ। यसमा स्वास्थ्य मन्त्रालयका अनुभवि टीम पनि हाम्रो साथमा रहने छ।’

शाक्यले अहिलेसम्म उपत्यकाका १८ वटै पालिकाको तथ्याङ्क अनुसार २७ सय ४६ जना संक्रमित भेटिएको भन्दै त्यसका आधारमा करिब २८ हजार पाँच सयको कन्ट्राक्ट ट्रेसिङ हुन सक्ने बताए। उनले ढिलोमा १५ गतेसम्ममा ती सबैको परीक्षण सक्ने गरी तालिका बनाएर अघि बढ्ने पनि जानकारी दिए।

बैठकमा उपस्थित मेयरहरुले एकीकृत आइसोलेशन निर्माण गर्ने, डेलिकेटेट एम्बुलेन्सको व्यवस्था हुनुपर्ने, स्वास्थ्य मन्त्रालयले छिटो सूचना दिनुपर्ने जस्ता माग राखेका थिए।

बैठकमा सहभागी स्वास्थ्यमन्त्रीका जनस्वास्थ्य सल्लाहकार डा खेम कार्कीले कोरोनाविरुद्धको युद्धमा एक जुट नहुने हो भने कोरोनाले जित्ने बताए।‘काठमाडौँभित्र कम्तीमा १५ हजार सङ्क्रमित रहेको हुन सक्ने अनुमान छ’, उनले भने ‘हामीले त्यो घेरा तोड्न सकेनौँ भने अवस्था भयावह हुन सक्छ। त्यसैले २४ सै घण्टा कोरोना नियन्त्रणमा लाग्नुपर्छ।