Thursday, 24, September, 2020 info@saipalnews.com

वीरगन्जमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

पर्सा १३ भदौ । एक महिलासहित वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिला, वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन् ।

नारायणी अस्पतालका प्रवक्ता डा।अतुलेश चौरसियाका अनुसार मनियारीका ३७ वर्षीय पुरुषलाई शुक्रबार राति ११ बजेर ४१ मिनेटमा थप उपचारका लागि वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालबाट काठमाडौं रिफर गरिएको थियो । सिकिस्त बिरामी रहेका उनको काठमाडौं लैजाँदै गर्दा शनिबार बिहान मुग्लिङनजिकै मृत्यु भएको डा।चौरसियाले जानकारी दिए ।

त्यस्तै वीरगन्ज–१२ का ४३ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति ११ बजेर ५५ मिनेटमा उपचारको क्रममा वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको डा।चौरसियाले बताए । हेपाटाइटीस बी र एचआईभी एड्सका बिरामी रहेका ती पुरुष शुक्रबार साँझ नेसनल मेडिकल कलेजबाट रिफर भएर कोरोना अस्पताल आएका थिए ।

यसैगरी शुक्रबार साँझ साढे ५ बजेको समयमा वीगन्ज–१२ मुर्ली निवासी ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो । डा।चौरसियाका अनुसार उच्च रक्तचापको समस्याबाट पीडित ती महिलामा वाइड जिन एक्स्पर्ट विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।