Thursday, 24, September, 2020 info@saipalnews.com

पुजारी हत्यापछि वडाध्यक्ष नै फरार

रौतहट १४ भदौ । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको भदौ ३ गते राति पौने ९ बजेतिर अज्ञात समूहले गोली हानी हत्या गर्‍यो । हत्यामा संलग्नको खोजी गर्ने क्रममा प्रहरीको ‘अनुसन्धान’ देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाहतिर सोझियो ।

नरुल्लाह जनता समाजवादी पार्टी जसपाका स्थानीय नेता हुन् । उनको करुनियामा घर छ । २०७४ को स्थानीय निर्वाचनमा उनले तत्कालीन संघीय समाजवादी पार्टीका तर्फबाट चुनाव जितेका थिए । प्रदेश २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसन्धान टोली वडाध्यक्ष नरुल्लाहको खोजीमा जुटे तर नरुल्लाह पुजारीको हत्या भएको दिनदेखि घरमा छैनन् ।

उनीसँगै अन्य तीन जना फरार रहेको प्रहरी स्रोत बताउँछ । उनी घटना भएकै दिन भागेर भारत पुगिसकेको प्रहरीको आशंका छ । जिल्ला प्रहरी कार्यालय रौतहट र प्रदेश प्रहरी कार्यालय जनकपुर स्रोतका अनुसार नरुल्लाह चुनावअघिसम्म रौतहट प्रहरीको सुराकीमा पटकपटक प्रयोग भएका व्यक्ति हुन् ।

२०६४ सालबाटै प्रहरी अधिकारीहरूलाई प्रभावमा पारेर अपराध धन्दा चलाउने गरेका उनी पछिल्लोपटक हत्या आरोपमा खोजीमा परेपछि फरार छन् । पुजारीको हत्या हुनु केही साताअघि नरुल्लाह केही व्यक्तिका साथ मन्दिरनजिकै आएको अनुसन्धानमा संलग्न स्रोतले जानकारी दियो । त्यसबेला पुजारीसँग उनको भनाभन पनि भएको थियो ।

देवाही गोनाहीका मेयर धर्मेन्द्र पटेलले पनि वडाध्यक्ष नरुल्लाह सम्पर्कविहीन भएको बताए । ‘केही समयदेखि उहाँ सम्पर्कमा हुनुहुन्न, कोरोना संक्रमणका बेला जनप्रतिनिधि नै यसरी सम्पर्कविहीन हुनुले गम्भीर आशंका जन्माएको छ,’ उनले भने, ‘मैले धेरैपटक सम्पर्क गर्न खोजें तर हुन सकेको छैन ।

पुजारीको हत्यामा नरुल्लाहजीको पनि नाम जोडिएको भन्ने सुनेको छु ।’ मेयर पटेल जसपाका रौतहट जिल्ला संयोजक हुन् । हाल फरार रहेका उनी वडाध्यक्षबाहेक पार्टीको अन्य भूमिकामा नरहेको मेयर पटेलले बताए ।

जिल्लाभित्र हुने आपराधिक गतिविधिको प्रहरीमा सुराकी दिएपछि नरुल्लाह २०७० अघिसम्म चर्चामा थिए तर आवरणमा प्रहरी सुराकी बनेका उनको धन्दा भित्रभित्रै आफ्नै अपराधको जालो सञ्चालनमा देखिएपछि ६ वर्षअघि उनलाई प्रहरीले पक्राउ गर्न पनि खोज्यो । भागेर बसेका नरुल्लाहले पछि संघीय समाजवादीबाट चुनाव उठेर वडाध्यक्षमा जितेका थिए । चुनाव जित्नुमा पनि उनले प्रहरीसँगको सुराकी सम्बन्धलाई प्रयोग गरेको स्रोत बताउँछ ।