Wednesday, 22, September, 2021 info@saipalnews.com

मन्त्री हेरफेर गर्ने तयारी, को को बन्ने भए मन्त्री

काठमाडौं १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साताभित्रै आफ्नो क्याबिनेटका मन्त्रीहरु हेरफेर गर्ने भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यदलले सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रीहरु हेरफेर गर्न सकिने बाटो खोलिदिएको छ ।दुई अध्यक्ष केपी ओली र प्रचण्डले अन्य नेतासँगको पनि परामर्शमा स्थायी कमिटीको बैठक अगाडि नै मन्त्रिपरिषद पुनर्गठन गर्न सक्ने एक सचिवालय सदस्यले बताए । ती नेताका अनुसार आउँदो साताभित्रै प्रधानमन्त्री ओलीले मन्त्रीहरु फेरबदल गर्ने छन् ।

स्थायी कमिटीको बैठक कोरोनाका कारण त्यो भन्दा पछि बस्न सक्छ । नेकपा कार्यदलले असोजको अन्तिममा केन्द्रीय कमिटीको बैठक बोलाएर महाधिवेशनको तयारी गर्नुपर्ने प्रस्ताव गरेको छ । बहालवालालाई नहटाई तीनभन्दा बढी मन्त्री थप्न नसकिने । विहीबार साँझ बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले राष्ट्रियसभामा वामदेव गौतमलाई लैजाने निर्णय गरेपछि अब अर्थमन्त्री युवराज खतिवडाको बहिर्गमन हुने भएको छ । अब खतिवडाले सम्हालेका दुईवटा मन्त्रालय खाली हुँदैछन् ।

वर्तमान संविधानले मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीसमेत गरी २५ जनाभन्दा बढी राख्न नमिल्ने सीमा निर्धारण गरेको छ । अहिलेको मन्त्रिपरिषदमा तीन राज्यमन्त्रीसमेत २३ जना छन् । अब युवराज खतिवडा बाहिरिएपछि २२ जना मात्र हुनेछन् । यो अवस्थामा ३ जनाभन्दा बढी मन्त्री थप्ने ठाउँ छैन । मन्त्रालय पनि अर्थ, सञ्चार र शहरी विकास गरी तीनवटा मात्रै खाली रहनेछन् ।प्रधानमन्त्री ओलीले आगामी साताभित्र मन्त्रीहरुको अदली–बदली गर्ने सम्भावना रहेको नेकपा नेताहरु बताउँछन् । अहिले शहरी विकास मन्त्रालय भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङले नै सम्हालिरहेको अवस्था छ भने अर्थ र सञ्चार दुईवटा मन्त्रालय खाली हुँदैछन् ।

विशेष गरी अर्थमन्त्रीमा प्रधानमन्त्रीले कसलाई ल्याउलान् भन्ने चासो सर्वत्र छ । उनले युवराज खतिवडालाई सल्लाहकारमा नियुक्त गरेर अर्थमन्त्रालय आफैंसँग राख्ने सम्भावना पनि रहेको नेताहरु बताउँछन् । वामदेव गौतमले अर्थमन्त्रीमा दाबी गरे पनि प्रधानमन्त्री ओली अहिलेसम्म गौतमलाई दिने पक्षमा नरहेको बालुवाटार स्रोत बताउँछ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा विहीबार साँझ बसेको नेपाल कम्युनिष्ट पार्टी  नेकपा सचिवालय बैठकको मुख्य एजेण्डा थियो– कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने । तर, वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णयले कार्यदलको प्रतिवेदनलाई छायाँमा पारिदियो ।बैठकपछि सचिवालयका एक नेताले  भने, ‘सचिवालय बैठकमा कार्यदलको प्रतिवेदनमाथि गम्भीर छलफल भयो । सबै नेताहरुले आ–आफ्ना विचार राख्नुभयो । तर, मिडियामा वामदेव कमरेडको मात्रै बढी चर्चा भयो, महत्वपूर्ण विषयचाहिँ  चर्चामै आएन ।’

नेकपाले आन्तरिक विवाद समाधानका लागि साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो । भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल र जनार्दन शर्मा सदस्य रहेको कार्यदलले १६ पृष्ठ लामो प्रतिवेदन भदौ ६ गते अध्यक्षद्वयलाई बुझाएको थियो । विहीबारको बैठक सोही प्रतिवेदनमाथि छलफल गर्नका लागि आयोजना गरिएको थियो ।तर, त्यहीवीचमा उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रियसभामा मनोनयन गर्नुपर्ने  प्रस्ताव तेर्स्याएपछि पदीय विषयले बढी चर्चा पायो ।

विहीबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आफैंले बैठकको प्रारम्भमै वामदेवलाई राष्ट्रियसभामा लैजाने प्रस्ताव राखेका थिए । बैठकबारे एक सचिवालय सदस्यले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीज्यूले आफैं बैठकको सुरुमै वामदेव कमरेडलाई राष्ट्रियसभा सदस्य बनाउने प्रस्ताव गर्छु भन्नुभयो, त्यसमा सबै नेताहरुको समर्थन रह्यो ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडालाई सांसद बनाउन चाहेको र वामदेवलाई नचाहेको चर्चा चलिरहेका बेला उनी आफैंले वामदेवको नाम प्रस्ताव गरेका हुन् । जसले गर्दा विहीबारको बैठकमा ‘युवराज कि वामदेव रु’ भन्ने कुनै बहस नभएको नेताहरु बताउँछन् ।वामदेव प्रकरणले धेरै समय नलिए पनि कार्यदलको प्रतिवेदनमा भने सचिवालयमा अलि लामै छलफल भयो । कार्यदलका संयोजकसमेत रहेका महासचिव विष्णु पौडेलले बैठकमा प्रतिवेदन प्रस्तुत गरेका थिए । महासचिवको प्रस्तुतीपछि सबै नेताले आफ्ना धारणा राखेका थिए ।

पार्टीभित्रको विषम परिस्थितिलाई कार्यदलका सदस्यहरुले समाधान गर्ने सूत्र पहिल्याएको भन्दै अध्यक्षद्वयले कार्यदलका सदस्यहरुलाई बैठकमा धन्यवाद दिएका थिए । अध्यक्षले कार्यदलको प्रतिवेदन नेकपाको इतिहासमा ऐतिहासिक महत्वको रहेको बताए ।

बैठकमा बोल्ने क्रममा झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले कार्यदलमा केही कुराहरु अपूर्ण र अस्पष्ट रहेका भन्दै त्यसलाई पनि स्पष्ट पारेर अगाडि जानुपर्ने सुझाव दिएका थिए । पार्टीमा बहस हुँदा फुटाउन खोजेको आरोप लगाउन नमिल्ने झलनाथ खनालको धारणा थियो ।

ईश्वर पोखरेलले कार्यदलको प्रतिवेदन समस्या सामाधानको महत्वपूर्ण आधार भएको भन्दै प्रशंसा गरेका थिए । वामदेव र रामबहादुर थापा बादलले बैठकमा थोरै मात्र बोलेको स्रोतले बतायो ।बैठकमा अलि लामो धारणा राखेका बरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदन पार्टीभित्रका वर्तमान समस्याहरुलाई पन्छाउने र टार्ने साधन नबनोस् भने ।

नेता नेपालले यो प्रतिवेदन पार्टी र सरकारमा देखिएका समस्या समाधान गर्ने साधन बनोस् भन्ने धारणा राखेका थिए । प्रतिवेदनमा धेरै कुराहरु अस्पष्ट र अधुरा छन् भन्दै तिनलाई स्पष्ट पारिनुपर्ने नेता नेपालले धारणा राखेका थिए ।

कार्यदलको प्रतिवेदनमाथि सबै नेताहरुले धारणा राखिसकेपछि अब प्रतिवेदनले दिएका सुझावका आधारमा आगामी स्थायी कमिटीको बैठकमा ठोस प्रस्ताव लैजाने विहीबारको सचिवालयले निर्णय गरेको छ ।कार्यदलको प्रतिवेदन र नेताहरुको धारणा दुबैलाई समेटेर प्रस्ताव तयार पार्ने जिम्मा बैठकले दुई अध्यक्षलाई दिएको एक नेताले जानकारी दिए ।

पार्टीभित्र देखिएका विवादहरु समाधानका लागि कार्यदलको प्रतिवेदनले मोडालिटी सिफारिस गरेको छ । र, सोहीअनुसार कार्यदलको सिफारिसमाथि सचिवालयको सुझाव लिएर प्रस्ताव तयार पारी स्थायी कमिटीको बैठकमा छलफल गरिने बैठकपछि नेताहरुले बताएका छन् । बढ्दो कोरोना महामारीका कारण स्थायी कमिटीको बैठक कहिले बस्छ भन्ने टुंगो लागेको छैन । तर, चाँडै नै बैठक बस्ने सहमति विहीबारको सचिवालय बैठकले गरेको एक नेताले जानकारी दिए ।