Thursday, 23, September, 2021 info@saipalnews.com

नेपालमा रेडपाण्डा संकटमाः कानून कडा भएपनि चोरी र शिकारी बढ्दो

काठमाडौं २० भदौ । नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने लोपोन्मुख जनावर रेड पाण्डाको चोरी शिकारी बढेको छ ।नेपाल, भारत र भूटानमा गरिएको रेडपाण्डाको तुलनात्मक अध्ययनमा नेपाल सबैभन्दा बढी जोखिमको क्षेत्रकोरुपमा देखिएको छ ।राष्ट्रिय निकुञ्ज र वन आरक्षबाट पाण्डा चोरी शिकारी बढेसँगै नेपालमा पाइने रेड पाण्डा लोप हुने अवस्थामा पुगेको निष्कर्ष निकालिएको छ ।

लोपोन्मुख जनावर रेड पाण्डा नेपालमा लोप हुँदै गएका छन् । नेपाल भारत र भूटानमा गरिएको तुलनात्मक अध्ययनमा नेपाल सबै भन्दा बढी जोखिममा रहेको पाइएको हो ।

एक अध्ययन अनुसार विश्वभर १५ हजार हाराहारीमा रहेका रेड पाण्डा नेपाल भने दुई प्रतिशत रहेका छन् । अर्थात नेपालमा ३ सय १७ देखि ५ सय ८२ वटासम्म मात्र रेड पाण्डा रहेको अनुमान गरिएको छ ।२०१० देखि २०१९ सम्म आइपुग्दा नेपालमा रेड पाण्डा लोप हुँदै गएका छन् । रेडपाण्डाको अवैध व्यापार सम्बन्धी अध्ययनले नेपाल चोरी शिकारीका लागि सुरक्षित भएको निष्कर्ष निकालेको छ ।

तर, रेडपाण्डाको संरक्षणको सम्बन्धमा भारत र भूटानको भन्दा नेपालको कानून नै कडा मानिने गरिएको छ । तर कानूनी व्यवस्था कडा भएपनि नेपालबाट हुने रेडपाण्डा चोरी शिकारी घटन सकेको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार अपराधमा संलग्नलाई पाँचदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने सक्ने व्यवस्था छ ।

साथै, यस्तो अपराधबारे सूचना दिएर अंग बरामद गर्न सहयोग गर्ने व्यक्तिलाई २५ हजारसम्म पुरस्कार दिने व्यवस्था छ ।विश्व वन्यजन्तु कोष डब्लूडब्लूएफले गरेको अध्ययनमा पनि दक्षिण एसियाका रेडपाण्डा पाइने तीन मुलुक मध्ये नेपालमा रेडपाण्डाको अवस्था खराब रहेको उल्लेख गरिएको छ ।