Monday, 21, September, 2020 info@saipalnews.com

एसिडपीडित मुस्कानलाई आफ्नो जन्मदिनमा पर्यटनमन्त्रीले गरे सहयोग

काठमाडौँ २१ भदौ | संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिडपीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन्। खातुनलाई मन्त्री भट्टराईले ५० हजार नगद दिई सहयोग गरेका हुन्।

गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए। एसिड प्रहारबाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ।

उनको उपचारको लागि सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराईले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताए।  पीडित बालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिनअघि बालुवाटारमा बोलाएर उनको शिक्षाको सबै प्रबन्ध गरिने बताएका थिए।

जन्मदिनमा भोजभतेरमा गरिने खर्चले कुनै अर्थ नराख्ने भएकाले उक्त रकमलाई मन्त्री भट्टराईले सामाजिक र परोपकारी काममा प्रयोग गर्दै आएका छन्। भट्टराईले ०७२ सालदेखि नियमितरुपमा आफ्नो जन्मदिनमा असहाय, पीडित, विपन्न बालबालिकालाई सहयोग गर्दै आएका छन्।