Thursday, 24, September, 2020 info@saipalnews.com

भारत-चीन सीमामा चल्यो गोली

काठमाडौं २४ भदौ । रक्षामन्त्रीस्तरीय बैठकमा सीमा विवाद थप बल्झिन नदिने र संवादलाई निरन्तरता दिने सहमति गरेको दुई दिन नबित्दै भारत र चीन सीमा क्षेत्रमा फेरि तनाव चर्किएको छ । सोमबार राति पूर्वी लद्दाखकै पाङगोङ छो ताल किनारको रेजाङ लास्थित सीमा क्षेत्रमा भएको फायरिङका कारण फेरि तनावपूर्ण स्थिति उत्पन्न भएको हो  ।

उक्त घटनालाई लिएर दुवै देशबीच आरोप–प्रत्यारोप पनि सुरु भएको छ । दुवै देशले आफ्नोतर्फबाट गोली नचलाएको दाबी गरेका छन् ।चीनले सोमबार मध्यरात विज्ञप्ति जारी गर्दै भारतमाथि परिस्थिति भड्काएर द्विदेशीय सीमाको उत्तरी खण्डमा पर्ने बांगङ हुनानमा लाइन एफ एक्चुअल कन्ट्रोल ९एलएसी० पार गरेको आरोप लगाएको छ ।

‘भारतीय सेनाले एक्कासि गोली चलाएपछि त्यहाँ तैनाथ चिनियाँ सीमारक्षकहरूले स्थिति नियन्त्रणमा लिन उचित कदम चाल्न बाध्य भए । भारतीय पक्षबाट भएको उक्त कदम दुवै देशबीच भएका समझदारीहरूको गम्भीर उल्लंघन हो । यस्ता घटनाले क्षेत्रीय तनाव, असमझदारी र अविश्वास थप बढाउने काम गरेको छ,’ चिनियाँ सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चीनको उक्त आरोपलाई भारतले भने ठाडै अस्वीकार गरेको छ । मंगलबार बिहान भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै भारत एलएसीको तनाव कम गर्न प्रतिबद्ध रहेको जनाएको छ । चीनले सीमा क्षेत्रमा तनाव बढाउने गरी उत्तेजक गतिविधि गरेको भारतको आरोप छ । ‘भारतीय सेनाबाट एलएसी पार गरेर गोली चलाउनेजस्तो परिस्थिति भड्काउने काम कुनै पनि अवस्थामा हुन सक्दैन ।

बरु सैन्य, कूटनीतिक र राजनीतिक तहमा तनाव कम गर्न पहल भइरहेका बेला पीएलएका तर्फबाट समझदारीहरूको ठाडो उल्लंघन गर्ने काम भएको छ । पीएलएका तर्फबाट भयभीत पार्नका लागि केही राउन्ड गोली हावामा चलाइएको थियो,’ भारतीय सेनाले भनेको छ ।

साथै, उत्तेजित पार्न गम्भीर प्रयास हुँदाहुँदै पनि भारतीय सेनाले संयम अपनाउँदै परिपक्व र जिम्मेवार व्यवहार देखाएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैगरी, भारतीय सेनाले ‘चिनियाँ पक्षबाट आएको विज्ञप्तिलाई घरेलु र अन्तर्राष्ट्रिय जगत्लाई भ्रममा पार्ने प्रयास’ भनेको छ ।

गएको दुई साताभित्रै सीमा क्षेत्रमा दुई देशका सैनिकहरू आमनेसामने भएको यो दोस्रो घटना हो । यसअघि अगस्ट २९ को राति पूर्वी लद्दाखमै दुवै देशका सैनिकबीच झडपको स्थिति बनेको थियो । त्यस घटनामा दुवै देशले एकआपसमा आरोप लगाएका थिए । तर, सीमा क्षेत्रमा गोली चलेको घटना भने ४५ वर्षपछिको पहिलो हो । दुई देशबीच करिब ३ हजार ५ सय किलोमिटर सीमाको विभिन्न खण्डमा तनाव हुँदै आए पनि गोली भने चलेको थिएन ।

अगस्ट २९ को घटनाका कारण परिस्थिति जटिल र तनावपूर्ण बनेको भन्दै त्यसलाई कम गर्न गत शनिबार दुई देशका रक्षामन्त्रीहरूले रुसको राजधानी मस्कोमा द्विपक्षीय छलफल गरेका थिए । छलफलमा भारतका तर्फबाट रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ समकक्षी वेई फेंगको नेतृत्वको टोली सहभागी भएको थियो । गत जुन १५ को मध्यरातमा गलवान उपत्यकामा दुवै देशका सैनिकहरूबीच झडप भएयताको यो सबैभन्दा उच्चस्तरीय भेट हो ।

तर, त्यसको दुई दिन नबित्दै सीमा क्षेत्रमा गोली चल्ने परिस्थिति बन्नुलाई रक्षा मामिलाका जानकारहरूले समेत गम्भीर घटनाका रूपमा अर्थ्याएका छन् । दुई देशबीच विगत केही महिनादेखि सीमा विवादका कारण देखिएको तनाव थप बढ्ने र उक्त क्षेत्रमा सैन्यकरण थप बढ्ने अनुमानसमेत उनीहरूको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार तनाव बढ्ने क्रमसँगै दुवै देशले त्यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाउँदै लगेका छन् ।

भारतीय विदेशमन्त्री एस जयंशकरले पनि चीनसँगको पछिल्लो तनावलाई गम्भीर भनेका छन् । भारतीय अंग्रेजी दैनिक द इन्डियन एक्सप्रेसले सोमबार गरेको एक भिडियो छलफलमा विदेशमन्त्री जयशंकरले ‘सीमा क्षेत्रको पछिल्लो परिस्थिति अत्यन्त गम्भीर भएको र त्यसलाई सुल्झाउन राजनीतिक स्तरमा सघन संवादको आवश्यकता’ भएको बताएका थिए ।

दुई मुलुकबीच करिब आधा दर्जन क्षेत्रमा दशकौंदेखि विवाद रहँदै आएको छ । सीमा विवादलाई लिएर सन् १९६२ मा दुई मुलुकबीच युद्धसमेत भएको थियो । चीन र भारतबीचको विवादास्पद क्षेत्रलगायत केही सीमा एलएसीबाट छुट्ट्याइएको छ । दुवै मुलुकले समय–समयमा एकअर्कालाई एलएसीको उल्लंघन आरोप लगाउँदै आएका छन् । गत जुन दोस्रो सातादेखि गलवान उपत्यका, तातो पानी र पाङगोङ ताल क्षेत्रको त्यही एलएसीमा भएको अतिक्रमणलाई लिएर तनाव चर्किएको हो ।

जुन १५ को राति गलवान उपत्यकाको एलएसी क्षेत्रमा दुई देशका सैनिकहरूबीच हिंसात्मक झडप नै भएको थियो । झडपमा २० भारतीय सैनिक मारिएका थिए । चिनियाँ पक्षतर्फ भएको क्षतिबारे भने कुनै जानकारी सार्वजनिक गरिएको छैन । घटनापछि दुई देशबीचको तनाव उत्कर्षमा पुग्यो । यसैबीच दुई मुलुकबीच उच्च तहमा भेटघाट र संवाद भए पनि ठोस सहमति जुट्न सकेको छैन ।

गलवान झडपपछि भारतले चीनविरुद्ध सीमा क्षेत्रमा मात्र नभएर आर्थिक र व्यापारिक क्षेत्रमा पनि आक्रामक रणनीतिक अख्तियार गरेको छ । उसले चिनियाँ कम्पनीहरूका कतिपय ठेक्का रद्द गरेको छ भने २ सयभन्दा बढी चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाइसकेको छ ।साभार कान्तिपुरबाट ।