Wednesday, 19, January, 2022 info@saipalnews.com

सिन्धुपाल्चोकमा फेरि भीषण : पहिरोमा पुरिए १८ घर, १२ जना बेपत्ता

काठमाडौं २८ भदौ। सिन्धुपाल्चोकमा बाढी पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा घरहरु पहिरोमा पुरिएका छन् । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताए । ‘घुम्थाङको नागपुजेमा बढी क्षति पुगेको जानकारी आएको छ । तर कति भन्ने थाहा छैन,’ प्रमुख जिल्ला अधिकारी ढकालले भने । उनले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको जानकारी दिए ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने कम्तिमा १२ जना मानिस बेपत्ता भएको बताए ।गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो ।जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।

बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ । साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।