Thursday, 23, September, 2021 info@saipalnews.com

सुनखानीमा गएको पहिरोमा पुरिएर ५० जनाको मृत्यु

किन्सासा २८ भदौ । प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रमा रहेको एउटा सुनखानीमा पहिरोले पुरिएर कम्तीमा ५० जनाको मृत्यु भएको छ । केही दिनदेखिको भारी वर्षापछिको पहिरोका कारण दक्षिण किबु प्रान्तको कमितुगा सहरको सुनखानीमा पहिरो गएको हो । पहिरोमा परी केही बेपत्ता भएका जनाइएको छ ।

अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् । प्रान्तीय अधिकारीका अनुसार पीडितहरूमध्ये अधिकांश युवा छन् । स्थानीय सञ्चारमाध्यमहरूले घटनामा बाँच्न सफल स्थानीयलाई उद्धृत गर्दै लेखेका छन्, ‘खानीका लागि खनिएका तीनटा गहिरा खाडलमा पानी पसेका कारण पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो ।

कमितुगा सहरका मेयर अलेकज्यान्डर बुन्ड्याले घटनापछि दुई दिने शोक घोषणा गरेका छन् । उनले स्थानीयलाई जमिनबाट शवहरू निकाल्न उद्धारकर्ताहरूलाई सहयोग गर्न आग्रहसमेत गरेका छन् । दक्षिण प्रान्त किवुमा खानीको अवैज्ञानिक उत्खनन गर्दा हरेक वर्ष बस्ती र वरपरका क्षेत्रमा पहिरो जाने गरेको छ । जसका कारण सयौंले अकालमा ज्यान गुमाउने गर्छन् ।