Thursday, 24, September, 2020 info@saipalnews.com

श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ

काठमाडौं २९ भदौ । प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल सुनार माथि श्रीमती दिलमाया सुनारको विसं २०५७ सालमा हत्या गरेको आरोप लागेको थियो । घटनापछि फरार हुँदै आएका उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएकोमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दिलमाया आफ्नै कोठामा मृतावस्थामा फेला परेकी थिइन् । तत्कालीन समयमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट अनुसन्धान गर्दा रिजालले नै घाँटी थिची कर्तव्य गरी मारेको खुल्न आएको थियो । त्यसपछि उनी फरार थिए । उनलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालय बबरमहल काठमाडौँ  बुझाएको थियो । उनलाई अहिले नक्खु कारागार ललितपुरमा राखिएको जनाइएको छ ।