Thursday, 24, September, 2020 info@saipalnews.com

बाढीले सडक बगाएपछि बेनी–जोमसोममा फेरि यातायात ठप्प

म्याग्दी ३१ भदौ । अन्नपूर्ण गाउँपालिका–३ दानाको अन्ध गल्छीस्थित रुप्से झरनामा आएको बाढीले सडक बगाएपछि बेनी–जोमसोम खण्डमा फेरि यातायात अवरुद्ध भएको छ । मुस्ताङबाट आलु–स्याउ बोकेर झरेका र बेनी हुँदै खाद्यान्न बोकेर उक्लँदै गरेका गाडी बाटैमा रोकिएका छन् । सडक बगेपछि त्यहाँबाट पैदलयात्रा गर्नसमेत नमिल्ने भएको छ ।

रुप्से झरनामा लेदोसहितको बाढी आएपछि फेदीको सडक कटानमा परेको हो । मंगलबार बिहानैदेखि रुप्सेमा पानीको सतह बढेपछि यातायात अवरुद्ध भएकामा सडक नै बगेपछि बुधबारदेखि पूरै ठप्प भएको हो । बाढीले दुवैतर्फको पूरै भित्तो बगाएकाले तत्काल नयाँ ट्र्याक खोल्नसमेत समस्या देखिएको छ ।साउन २६ गतेको बाढीले एक महिनासम्म अवरुद्ध सडक रुप्से झरनामा नयाँ ट्र्याक खोलेर भदौ १ देखि यातायात सञ्चालन गरिएको थियो ।

‘मंगलबार रुप्सेमा पानीको सतह केही घटेसँगै पानी फिँजाई नयाँ ट्र्याक खोलेर सवारी पास गराउने प्रयास असफल भयो । राति बाढी उर्लेर वारिपारिको भित्तासमेत बगाएपछि तत्काल सडक खुल्ने सम्भावना नै छैन,’ सडकका स्थानीय सुपरभाइजर इन्द्रसिं शेरचनले भने, ‘रुप्सेमा पानीको सतह नघटी ट्र्याक खोल्न सकिँदैन ।

त्यस्तै सदरमुकाम बेनीदेखि ११ किमी उत्तर रघुगंगा गाउँपालिका–१ बेगखोलामा बाढी आउँदा यातायात ठप्प भएको छ । त्यहाँ अहिले ‘स्ट्यान्ड बाई’ राखिएको डोजरले बोकेर यात्रु वारपार गराउने गरेको छ ।