Thursday, 24, September, 2020 info@saipalnews.com

भारत र चीनका सेनाबिच सीमामा २०० राउण्ड फायरिङ्ग

एजेन्सी ३१ भदौ । सीमा क्षेत्रमा देखिएको तनावको अवस्था अन्त्यका लागि भारत र चीनका विदेश मन्त्रीबिच रुसमा भएको सम्झौता पूर्व वास्तविक नियन्त्रण रेखा एलएसीमा दुई देशका सेनाबिच गोली हानाहान भएको खबर द इन्डियन एक्सप्रेसले प्रकाशित गरेको छ ।

उच्च सरकारी स्रोतलाई उद्धृत गरी छापिएको खबरमा दुई देशका सेनाले १००–२०० राउण्ड गोली चलाएको उल्लेख छ ।भारतका विदेश मन्त्री एस जयशंकर र चीनका विदेश मन्त्रीबिच सेप्टेम्बर १० मा रुसको मस्कोमा भएको वार्तामा तनाव कम गर्ने सहमति भएको थियो । त्यसको ठीक पूर्व एलएसीको प्याङ्गोग तालको उत्तरी किनारामा दुई देशका सेनाबिच गोली हानाहान भएको हो ।

सो गोली हानाहान चुशुल सब सेक्टरमा ७ सेप्टेम्बरमा भएको भन्दा ठूलो थियो । चुशुल क्षेत्रमा भएको गोली हानाहानलाई लिएर चीन र भारतले वक्तव्य जारी गरेका थिए र पछिल्लो ४५ वर्षमा एलएसीमा गोली हानाहान भएको यो पहिलो घटना रहेको बताएका थिए ।सेप्टेम्बर ७ सोमबार भएको घटना चीनको सेना आफूहरु तर्फ बढेपछि उनीहरुलाई रोक्ने क्रममा भएको दाबी भारतीय सैनिकले जारी गरेको वक्तव्यमा उल्लेख थियो ।

चीनले त्यसअघि नै वक्तव्य जारी गरेर भारतीय सैनिकले गेरकानूनी रुपमा फेरि पनि चिनियाँ सैनिकमाथि वार्निङ्ग शट्स फायर गरेको दाबी गरेको थियो ।तर दुवै देशले प्याङ्गोग क्षेत्रमा भएको गोली हानाहानबारे आधिकारिक रुपमा केही बताएका छैन ।दुई देशका विदेश मन्त्रीबिच भएको वार्तापछिको सम्झौतामा सबै कायम सम्झौता र नियमहरु पालना गर्ने र तनाव बढाउने खालका कुनै गतिविधि नगर्ने सहमति भएको थियो ।