Thursday, 27, January, 2022 info@saipalnews.com

विगत ६ महिनादेखि ठप्प रहेका लामो दूरीका बस आजबाट गुड्ने

काठमाडौं १ असोज । करिब ६ महिनादेखि ठप्प रहेका लामो दूरीका सार्वजनिक बसहरू आजबाट गुड्ने भएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० महामारीका कारण यातायात तथा हवाइ उडान ठप्प भएका थिए । भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन सुरू गरेको थियो

लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन बल्ल आजदेखि खुल्ने भएका हुन् । आजैदेखि आन्तरिक हवाइ उडान समेत खुल्ने बताइएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले १ असोज आजदेखि नै लामो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएको थियो । यससँगै यातायात व्यवसायी र मजदुरहरू आजबाटै सार्वजनिक सवारी साधन सञ्चालन गर्न तयार भएका हुन् । सरकारले अनुमति नदिए पनि व्यवासायीले बस गुडाउने चेतावनी दिँदै आएका थिए ।

यातायात  व्यवसायीहरूले बिहीबार बिहानसम्म बस सञ्चालनको कार्यविधि उपलब्ध गराउन पनि माग गरेका छन् । सरकारले कार्यविधि बनाउने जिम्मा भौतिक तथा यातायात मन्त्रालयलाई दिएको छ ।कोरोना संक्रमणको जोखि झनै बढेको वेला लामो दूरीका बस सञ्चालन हुनुले संक्रमण झन् फैलने चिन्ता पनि छ । सरकारले अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड लागू गर्न निर्देशन दिएको छ ।

जसअनुसार बसले सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउनेछन् । यसैकारण तोकिएको भाडादरभन्दा ५० प्रतिशत अतिरिक्त भाडा लिन सक्ने निर्णय गरिएको छ । सिटबाहेक अन्यत्र यात्रु राख्न भने पाइनेछैन । साथै चालक, सहचालक, परिचालक, बुकिङका कर्मचारीलाई मास्क, स्यानिटाइजर, पन्जा, फेस भाइजकलगायतका स्वास्थ्य उपकरण अनिवार्य रूपमा प्रयोग गर्न अनुरोध गरिएको छ । यात्रुले पनि अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्नेछ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बद्ध तीनवटै ट्रेड युनियनका प्रतिनिधिले बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग भेट गरेर यातायात सञ्चालन प्रक्रियाबारे थप छलफल गरेका थिए । भेटपछि उनीहरूले सामूहिक विज्ञप्ति जारी गर्दै यातायात सञ्चालन गर्न दिने सरकारी निर्णयको स्वागत गर्दै धन्यवादसमेत ज्ञापन गरेका थिए ।यसअघि पनि महासंघ र यातायातसम्बद्ध तीनवटै ट्रेड युनियनले मन्त्री नेम्वाङलाई भेटेर १ असोजदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवस्था गरिदिन आग्रह गरिरहेका थिए ।