Saturday, 24, October, 2020 info@saipalnews.com

हेल्लो सरकार ! म गोविन्द बोलेको

हेल्लो सरकार ! म गोविन्द बोलेको । सरकारलाई सायद थाहा नहोला, घर जान गोजीमा सुको नभएर काठमाडौंमा सयौं मजदुरहरुको बिचल्ली भएको छ । भाडा तिर्न नसकेर विवाद हुँदा घरबेटीले भाडामा बस्नेहरुको ज्यानै समेत लिएका छन् । सयौं मजदुर, अपाङ्ग, अशक्तको पेटमा भातको एक सितो पर्न पाएको छैन, त्यहाँ त मुसाहरु क्रिकेट खेलिरहेका छन् अरे !

तर सरकारले भने ५० प्रतिशत भाडादर वृद्धि गर्नुभएको छ । यो निर्णयले यातायात व्यवसायीलाई त फाइदा नै होला । रोकिएको व्यापारको अब एकैसाथ मनलाग्दी भाडा असुलेर कमाइहाल्छन् नि । तर खान समेत नपाएर पेटमा डोरी बाँध्ने अवस्थामा पुगेका बिचनार जनता ! अनि भाडा तिर्न नसकेर घरबाट निकालिका नागरिकले कहाँबाट पैसा ल्याउछन्, प्रधानमन्त्रीज्यू !

सरकारको निर्णय देखेर, पढेर, सुनेर, लेखेर मैले काठमाडौंमा खान नपाएर भोकले भौतारिँदै छट्पटाएर मिडिया गुहारेँ । आँसु पुछ्दै भोक मेटाउन पेटमा नाम्लो कसेका ती आम–नागरिकलाई सम्झिएँ । तिनीहरूले पक्कै पनि सोखले वा रहरले त पेटमा नाम्लो बाधेका होइनन् होला नि । त्यो त पापी पेटले आहाराको खोजी गर्दै पेटलाई झक्झकी हल्लाई, शिर कामेरै रिँगटा लागेको बेला, भोकको झक्झकाई रोक्न बाँधेको काँडेतार हो । जसले जति हल्लाए पनि त्यो शरीरलाई नढालोस् भनेर ।

अब कुरा गरौँ– यातायात व्यवसायीका लागि सरकारी साविककै भाडादरमा ५० प्रतिशत वृद्धि गरेको सन्र्दभमा ! हो, यातायात मजदुरहरु पनि ठूलो मारमा छन् । उनीहरुका पनि करोडौंका सवारी–साधान ग्यारेजमै थन्किएका छन् । पेटमा भोक छ । तर गाडी त मालिकका हुन् । कमाउने मालिकले हो । मजदूरले त्यो महंगो भाडाको अंश सम्म पाउँदैनन् ।

गाडीको इन्जिनमा खिया लागेका होलान् तर यो खियाको च्वाटा निकाल्न जनता नै चाहिने ! त्यो खिया टकटक्याउन त सरकार पनि त सक्थ्यो होला ! होइन त ? सरकारले यातायात व्यवसायीलाई पनि सहुलियत दिन सक्यो नि चाहेको भए । उनीहरुको सवारी दर्ता नवीकरण निशुल्क गर्ने, कर छुट गर्ने, ब्याज मिनाहा वा कम गर्न पहल गर्ने त गर्न सक्थ्यो नि है !

अर्बौं कमाउने, करोडौं राजस्व उठाउने निकायले एक छाक भोकै बस्ने, एक छाक मुखमा मस्किलले माड लाग्ने निमुखा नागरिकलाई देख्नै नहुने ! कोरोना महामारीको वास्ता नगर्दै उनीहरु भोकले चिच्याउँदै जो आहारा खोज्दै भौतारिरहेका छन् । तिनीहरुले के साविककै भाडादरमा ५० प्रतिशत बढेको भाडा तिरेर दशै मनाउन घर जान सक्छन् त सरकार !

जसले पेटको चिच्याहटलाई सान्त्वना दिन नाम्लो पेटमा बेरेका छन् । एक केजी चालमको जोहो गर्न हार–गुहार माग्दै हिँडेका छन् । के तिनीहरु ८÷१० हजार भडा तिर्न सक्छन् होला त ? पक्कै सक्दैनन् । जो ५÷७ हजार घरभाडा तिर्न नसकेर निकालिएका छन् । जो एक चिम्टी आटोपिठो किन्न पैसा नभएर भोकभोकै रात काट्न विवश छन् ।

कोरोनाको महासंकटमा हजारौंले कामदारलाई कामबाट निकालिदिएका छन् । उनीहरुले पाँच–छ महिनाको कोठाभाडा तिर्न नसकेर बिहान–साँझ घरबेटीको किच्चकिचाहट सुन्नु बाध्यता भएको छ । के उनीहरुको आत्म–स्वाभिमान छैन ? यो बेला महामृत्युञ्जय मन्त्र नसुनाऊ सरकार ! उनीहरू त यो मन्त्र सुने अवस्थामा छैनन् । उनीहरु त पेटको भोकका मुसाले क्रिकेट खेलेको मज्जा लिन नसकिरहेको अवस्थामा छन् ।

मेरो घर सुदूरपश्चिमको सुदूर जिल्ला अछाम हो । म अहिले काठमाडौँमा बस्दै आएको छु । सानोतिनो जागिर समेत गरिरहेको छु । तर म सानो–तिनो जागिर गर्नेलाई समेत यो ५० प्रतिशत अतिरिक्त भाडा तिरेर दशैँमा कसरी घर जाने होला भनेर सताइरहेको छ । अरु कामै नभएका, कामबाट निकालिएका, गाँसै खोसिएका, ६ महिनादेखि बेरोजगार भौतारिरहेकाहरुको अवस्था के होला रु एक छाक खान समेत समस्या भएका लाखैँ प्रवासीहरुलाई कति पोल्यो होला ?

प्रिय व्यवसायीप्रेमी प्रधानमन्त्रीज्यू !

आखिर सबै नागरिकमा यत्तिकै ध्यान दिनु तपाईंजस्तो अभिभावकको कर्तव्य हो कि होइन ? व्यवसायीलाई पोस्ने र नागरिकको ढाड सेक्ने सरकारको नेत्र समदर्शी बनोस् । सके गरिब, मजदूर, बेरोजगार, पीडित जनताको घाउमा मह्लम लगाइयोस् । नसके मालिक, व्यवसायी, हुनेखाने, पुँजीपति र पहुँचवालाहरुको स्वार्थअनुकूल निर्णय गर्न बन्द गरियोस् । हस् सरकार ! अहिलेलाई यत्ति ।