Saturday, 31, October, 2020 info@saipalnews.com

ओखलढुंगामा खुल्न थाले विद्यालय

ओखलढुंगा ५ असोज । कोरोना कहरका कारण लामो समय थलिएका ओखलढुंगाका सामुदायिक विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । यस वर्षको शैक्षिक सत्र सुरु भएदेखि बन्द रहेका विद्यालयहरु जनस्वास्थ्य मापदण्डको पालना गर्दै सञ्चालनमा आउन थालेका हुन् । जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारीमा रहेको जालपा माध्यमिक विद्यालय सोमबार आजबाट सञ्चालनमा आएको छ ।

लामो समयदेखी विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित बनेको भन्दै जनस्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बिद्यालय सञ्चालन गरिएको विद्यालयका शिक्षक दिपक घिमिरेले जानकारी दिए । जालपा माध्यमिक विद्यालयले विद्यार्थी–विद्यार्थी बीचमा भौतिक दुरी कायम गराएर पठनपाठन सुरु गरेको छ । एउटा बेन्चमा दुईजना विद्यार्थी राखेर उनीहरु बीचमा करिब २ मिटरको दुरी कायम गराई माक्स अनिवार्य गराईएको शिक्षक घिमिरेले जानकारी दिए । उनले लामो समय विद्यालय बन्द हुँदा यसवर्षको शैक्षिक सत्र नै प्रभावित बनेको भन्दै अब विद्यालय सञ्चालन गर्नुपर्ने बताए ।

कोरोना संक्रमणको जोखिमका कारण लामो समय विद्यालय बन्द हुँदा सबैभन्दा बढी यसको मारमा विद्यार्थीहरु परेको भन्दै अब कोरोनसँग सावधानी अपनाएर बिद्यालय सञ्चालन गर्नुको विकल्प नभएको उनको भनाई छ । जिल्लाका अन्य केही स्थानिय तहहरुले पनि क्रमशः बिद्यालय सञ्चालन गर्ने नीति अगाडी सारेका छन् ।