Tuesday, 20, October, 2020 info@saipalnews.com

मन्त्रिपरिषद् पुनर्गठन : नीति र नियतमा नेकपाले तालमेल मिलाउला ?

काठमाडौँ १० अजोज । प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमै मन्त्रिपरिषद् पुनर्गठन गर्न तयारी थालेका छन् । पार्टी स्थायी कमिटीको निर्णय, सचिवालयबाट प्राप्त म्यान्डेड र अध्यक्ष पुष्पकमल दाहालसँगको निरन्तर छलफलका आधारमा ओली मन्त्रीमण्डल पुनर्गठनको तयारी लागेका हुन् । तर, मन्त्रिपरिषद् पुनर्गठनमा नेकपाको नीति र नियतमा तालमेल नहुने सम्भावना बढेको छ ।

सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन खाँचो रहेको भन्दै स्थायी कमिटीबाट पारित प्रस्तावमा यसका लागि निश्चत मापदण्डसमेत तय भएका थिए । तर, मन्त्रिपरिषद् पुनर्गठनमा फेरि पनि कार्यसम्पादन र योग्यता भन्दा ‘गुटगत सहभागिता’लाई प्राथामिकतामा राखिएको छ । मन्त्रिपरिषद् पुनर्गठनको चर्चासँगै आंकाक्षीको संख्या पनि बढेको छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच शुक्रबार र शनिबार भएका भेट तथा दाहालले सचिवालयका अन्य नेताहरुसँग गरेको परामर्शलाई आधार मान्ने हो भने मन्त्रिपरिषद् पुनर्गठनमा ‘गुटगत सहभागिता’लाई प्राथामितका दिन खोजिएको छ । ‘सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने नीति हो । तर, यो अमूर्त भयो ।

पार्टीभित्रको शक्ति सन्तुलनका आधारमा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ । हट्ने पनि र जाने पनि पार्टीका तर्फबाट होइन गुटका तर्फबाट जानेछन्,’ सचिवालयका एक सदस्यले भने, ‘गुटको सन्तुलन मिले मन्त्रिपरिषद् पुनर्गठनमा विवाद हुँदैन, मिलेन भने विवाद हुन सक्छ ।’ हाल मन्त्रिपरिषद्‌मा रहेकाहरुले पनि आफ्नो निरन्तरताको कोसिस गरेका छन् ।