Wednesday, 22, September, 2021 info@saipalnews.com

परीक्षा नियन्त्रकलाई कोरोना संक्रमण, त्रिवि परीक्षा कार्यालय सिल

काठमाडौं १६ असोज । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीमा कोरोना सङ्क्रमण देखिएपछि त्रिवि परीक्षा कार्यालय सिल गरिएको छ ।जोशीमा कोरोनाभाइरस संक्रमण देखिएपछि कार्यालय बिहीबार र शुक्रबार दुई दिन बन्द गरिएको हो । कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि जोशी हाल होम आइसोलेसनमा बसेका छन् ।

विश्वविद्यालयका रोकिएका परीक्षा सञ्चालन गर्नेबारे गत असोज ६ मा भएको बैठकमा जोशी सहभागी थिए । उक्त बैठकमा सहभागी आइओएमकी डिनसमेत रहेकी प्रधानमन्त्रीको निजी चिकित्सक दिब्या सिंह शाहमा पनि कोरोना भाइरस संक्रमण देखिएको थियो ।

आईओएमकी डिन  सिंहलाई कोरोना पोजेटिभ देखिएपछि जोशीसहित विश्वविद्यालयका अन्य अधिकारीले पीसीआर परीक्षण गराएका थिए । तर अन्यमा भने कोरोना नेगेटिभ आएको छ । अब आइतबारबाट कार्यालय खुल्ने कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।