Wednesday, 22, September, 2021 info@saipalnews.com

माल्टा पठाइदिन्छु भनी लाखौं ठगी गर्ने युवक सुनसरीबाट पक्राउ

काठमाडौं २१ असोज । नेपालीहरुलाई माल्टा पठाइदिने भन्दै लाखौं रकम ठग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका– प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राईलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । विभिन्न प्रलोभनमा पारी नेपालीहरुलाई वैदेशिक रोजगारको लागि माल्टा पठाइदिन्छुु भनि राईले ४८ लाख ९८ हजार रुपैयाँ ठगेको भन्दै गोपाल आचार्यले २०७६ फागुन ४ गते महाशाखामा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर अपराध महाशाखाले राईलाई सुनसरीबाट पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी दीपक थापाले जानकारी दिए । राईलाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।