Tuesday, 20, October, 2020 info@saipalnews.com

ललितपुर महानगरपालिकाका प्रमुख कोरोनामुक्त

ललितपुर २१ असोज । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ ।  यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रबार उहाँमा कोरोना पोजेटिभ देखिएको थियो । असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहनुभएका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना हुनुभएको प्रमुखका स्वकीय सचिव इन्द्र वज्राचार्यले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “आज दिउँसो ४ बजे मेयर सापको नतिजा नेगेटिभ आयो ।

अब उहाँ छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनुहुनेछ । मङ्गलबार मात्रै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र सोमबार महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणमुक्त हुनुभएको थियो । महानगरपालिका वडा नं ८ का वडाध्यक्ष हेम महर्जन, १२ का वडाध्यक्ष नारायणलाल अवाले र नं १९ का वडाध्यक्ष विनोद ताम्राकारलाई कोरोना सङ्क्रमण पुष्टि  भएको छ ।

ज्वरो आउने र थकाइ लाग्ने भएपछि १८ गते स्वाब परीक्षण गराउँदा आज कोरोना पोजेटिभको नतिजा आएको  ८ नं का वडाध्यक्षले बताउनुभयो । उहाँले भन्नुभयो, “ मेरी पत्नी ज्ञानमाया महर्जनमा पनि कोरोना पोजेटिभ देखिएर  हामी दुवै होम आइसोलेशनमा बसेका छाँ।”

रुघाखोकी लागेर असोज १३ गते स्वाब परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको १२ का वडाध्यक्षले बताउनुभयो । उहाँले भन्नुभयो, “मेयर सापलाई कोरोना देखिनु केही दिनअघि हामी उहाँसँगै एक बैठक बसेका थियौँ । उहाँमा कोरोना पोजेटिभ देखियो भनेर आफ्नो पनि परीक्षण गराउँदा नतिजा पोजेटिभ नै आयो ।”   ज्वरो आउने र खानाको स्वाद थाहा नपाउने भएपछि १६ गते स्वाब परीक्षण गराउँदा १८ गते कोरोना पुष्टि भएको नं १९ का वडाध्यक्षको भनाइ छ ।

महानगरपालिकाका केही कार्यालय बन्द

असोज २० देखि २७ गतेसम्मका लागि  ८ नं वडा कार्यालय  र १९ गतेदेखि एक हप्ताका लागि  १९ नं वडाकार्यालय पूर्ण रुपमा बन्द गरिएको सम्बन्धित वडाध्यक्षले जानकारी गराउनुभयो । वडामा कोभिड सङ्क्रमित बढेसँँगै बिहीबारदेखि  २५ गतेसम्मलाई वडाका सम्पूर्ण सेवा बन्द गरिने भएको  २० नंका वडाध्यक्ष चन्द्रलाल महर्जनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आउँदो आइतबारसम्म सङ्क्रमितको सङ्ख्या नियाल्छाँ र त्यसपछि पनि थप बढेको बढै गरेमा स्वास्थ्य सावधानी अपनाएर वडामा पुनः सेवा दिन थाल्नेछा । अन्य केही वडाध्यक्ष पनि कोरोनाको शिकार भएका कारण आफूलगायत कर्मचारी यसबाट मुक्त रहन सकून् भनेर अर्को सूचना प्रकाशन नभएसम्मका लागि वडा बन्द गरिएको महर्जनको भनाइ छ ।