Saturday, 18, September, 2021 info@saipalnews.com

विद्यालय भवन हस्तान्तरण

भक्तपुर २२ असोज । चाँगुनारायण नगरपालिका–९ ताथलीको सौडोलस्थित देवी माध्यमिक विद्यालयको भवन आज एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । एशियाली विकास बैंक एडिबीको आर्थिक सहयोग, केन्द्रीय कार्यान्वय इकाई र जिल्ला आयोजना इकाई शिक्षाको समन्वयमा निर्माण कार्य सम्पन्न भएको सो विद्यालयको भवन आज हस्तान्तरण गरिएको हो ।

जिल्ला आयोजना इकाई शिक्षा का प्रमुख भरतबहादुर श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराम बासुकला र विद्यालयका प्रधानाध्यापक राजाराम छुँकांलाई संयुक्त रुपमा विद्यालय भवनको साँचो हस्तान्तरण गर्नुभयो ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पले उक्त विद्यालयको भवन क्षति भएपछि बालबालिकालाई अध्ययन गर्न समस्या हुँदै आएको थियो । एशियाली विकास बैंककोे रु। तीन करोड ७३ लाख ७७ हजारको सहयोगमा निर्माण भएको सो भवन आधुनिक सुविधा सम्पन्न रहेको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ । उक्त भवनको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले आत्मनिर्भर अर्थतन्त्र अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

भूकम्पप्रतिरोधी अत्याधुनिक भवन पाएपछि त्यसको सदुपयोगमा विद्यालयले ध्यान दिनुपर्ने बताउँदै उहाँले सरकारले पठनपाठनबारे आवश्यक बन्दोबस्त नगर्दा अहिले लाखौं विद्यार्थी पढाइबाट बञ्चित हुनु परेको आरोप लगाउनुभयो । सांसद सुवालले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको समयमा अझ बढी आत्मनिर्भर अर्थतन्त्रको जरुरी रहेको उल्लेख गर्दै यसतर्फ सरकार सम्वेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला आयोजना इकाई ९शिक्षा०का प्रमुख श्रेष्ठले गुणस्तरीय शिक्षा दिने उत्कृष्ट विद्यालयको रुपमा परिचित यो विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेसँगै ठाउँ अभाव भएकोमा अब भने त्यो समस्या समाधान हुने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराम बासुकलाले विद्यालयले दिने शिक्षालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन विद्यालय परिवार एकतावद्ध भएर लागिरहेको बताउनुभयो ।