Thursday, 27, January, 2022 info@saipalnews.com

भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाइयो

एजेन्सी २४ असोज । भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाइएको छ । जलाइएका ती पुजारीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । राजस्थानमा पर्ने करौली जिल्लाको सदरमुकामबाट करिब ४ किलोमिटर टाढाको बुकाना गाउँमा उक्त घटना भएको हो ।

स्थानीयबीच जमिनबारे विवाद उत्पन्न भएपछि पुजारी बाबुलाल वैष्णवको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको थियो । गम्भीर घाइते भएका पुजारीको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ ।

उक्त घटनामा संलग्न रहेको भन्दै पाँच जनाविरुद्ध  अभियोग लगाइएको छ । तीमध्ये मुख्य अभियुक्त कैला मिणालाई करौली प्रहरीले पक्राउ गरिसकेको बताइएको छ । अन्य अभियुक्तहरूको पनि खोजी भइरहेको प्रहरीको भनाइ छ । जग्गाबारेको उक्त विवाद अचानक भएको प्रहरीको दाबी छ ।