Tuesday, 20, October, 2020 info@saipalnews.com

कोरोना महामारीमा जसपाको खेलाँची

धनुषा ३० असोज । शुक्रबारसम्म प्रदेश २ मा कोभिड १९ को संक्रमणका कारण १५९ जनाले ज्यान गुमाइसके । शुक्रबार मात्र थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ र, कुल संक्रमितको संख्या १४ हजार ६२० पुगेको छ । तर प्रदेश २ मा सरकारको नेतृत्व र सम्वद्ध दलका नेताहरु भने कोरोनासँग खेलाँची गरिरहेका छन् । मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीहरु र जनता समाजवादी पार्टीका नेताहरु हरेक दिनजसो मानिसहरुलाई भेला पार्ने राजनीतिक भाषणबाजी गर्न व्यस्त देखिएका हुन् ।

शुक्रबार त्यस्तै भयो । जसपाका नेताहरु राजेन्द्र महतो, अनिल झा, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल लगायतले धनुषाको सबैलामा ठूलो संख्यामा सर्वसाधारणलाई भेला परेर पार्टी प्रवेश कार्यक्रम गरेका छन् ।जसपाका नेताहरुले माहामारीलाई भुलेर राजनीतिक कार्यक्रम गरेको यो पहिलो घटना भने होइन । २७ असोजमा पर्साको पकहामैनपुर गाउँपालिकामा यसरी नै पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको थियो ।

१५ साउनमा सिरहाको गोलबजार नगरपालिकाको चौहर्बामा यस्तै कार्यक्रम भएको थियो । कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले आफ्नो कोरोना भाइरससम्बन्धी चेतनामूलक भाषण ठोक्दै संक्रमण हुन नदिन व्यवहारमा परिवर्तन गर्नुपर्नेदेखि संक्रमित भइहाले अस्पतालसम्म पुर्‍याउनुपर्ने धारणा राखेका थिए ।

जनताको समस्या हेर्नु पर्दैन ?

कोरोना महामारीको समयमा यस्तो कार्यक्रम गर्नु कुनै हिसावले ठीक भन्न नसकिने बताउँछन् राजनीतिक विश्लेषक सुरेन्द्र लाभ । भन्छन्, ‘यो त कारोनालाई नटेर्नु हो । मानिसको जीवनभन्दा महत्वपूर्ण पार्टी प्रवेश हुन नसक्ने बताउँदै लाभले यो भीड गर्नु कुनै पनि राजनीतिक दलका लागि शोभाको बिषय नभएको बताए ।

‘जनता भोकमरीले मरिरहेका छन् । न उपचार पाएका छन् न अर्को कुनै व्यवस्था गरिएको छ’ उनी भन्छन्, ‘जनताको समस्या समाधान गर्नेतर्फ ध्यान नदिई भीड गराउनुलाई कुनै पनि हिसावले ठीक भन्न सकिँदैन । अहिले भीड जम्मा गर्नु र राजनीतिक कार्यक्रम गर्नु अवाञ्छित गतिविधि भएको उनले बताए ।