Saturday, 28, November, 2020 info@saipalnews.com

बारा प्रहरीद्वारा स्रोत नखुलेको करिब साढे १२ लाख रुपैयाँ बरामद

बारा ३ कात्तिक । बारा प्रहरीले स्रोत नखुलेको करिब साढे १२ लाख रुपैयाँ बरामद गरेको छ । सोमबार बिहान प्रहरीले नेपाल–भारत सीमास्थित सिम्रौनगढ नगरपालिका ९मा पर्ने पिपराघाटबाट १२ लाख ३४ हजार ५९५ रुपैयाँ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बारा र मातहत प्रहरी चौकी कचोर्वाबाट खटिएको टोलीले बिहान साढे १० बजे जाँच गर्ने क्रममा भारतबाट नेपाल आइरहेका व्यक्तिबाट उक्त रकम बरामद गरिएको बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताउनुभयो ।

प्रहरीलाई देखेपछि पैसाको झोला फालेर ती व्यक्ति फरार भएको एसपी पंगेनीकोे भनाई छ । फरार भएका व्यक्तिले फालेको झोलाभित्र नेपाली एक हजार दरका ८४२ थान, पाँच सय दरका ७०२ थान, एक सय दरका ३५९ थान, पचास रुपैयाँका ११२ थान, बीस दरका ४ थान, दश दरको एक थान र पाँच दरको १ थान रकम बरामद भएको पंगेनीले टेलिफोन मार्फत बताउनुभयो ।

बरामद भएको रकम आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ। स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको भनाइ छ । एसपी पंगेनी नेपाली प्रहरी भित्र उत्कृष्ट काम गर्ने अफिसरका रूपमा पर्ने गर्छन सोहि कारण प्रहरी दिवसमा समेत समानित भएका थिए ।