Saturday, 28, November, 2020 info@saipalnews.com

सेनालाई सदैव सहयोग गर्छुः उपप्रम पोखरेल

काठमाडौं ३ कात्तिक । सैनिक मुख्यालय जङ्गी अड्डाले उपप्रधानमन्त्री तथा निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेललाई आज बिदाइ  गरेको छ । जङ्गीअड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित उक्त कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले आफ्नो  कार्यकालमा नेपाली सेनाले विपद्का समयमा गरेको उद्धार, राहत र  कोभिड–१९ को महामारीको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।

सेनाबाट भइरहेको विकासनिर्माण, प्रकृति संरक्षणलगायत कार्यको स्मरण गर्दै  उहाँले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सेनालाई सुझाव दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “म आफू जुनसुकै ठाउँमा रहे तापनि  सेनालाइ सदैव सहयोग गर्ने छु ।

सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले रक्षामन्त्री पोखरेलबाट करीब तीन वर्षका कार्यकालमा भएको मार्गनिर्देशन र सुधारात्मक कार्यको थालनीप्रति धन्यवाद ज्ञापन गर्दै आभार व्यक्त गर्नुभयो । निवर्तमान रक्षामन्त्रीको नेतृत्वमा कार्यसम्पादनमा सहजता र सरलता अनुभूति भएको उल्लेख गर्दै उहाँले भन्नुभयो,  “राष्ट्रिय सुरक्षा नीति २०७५ को कार्यान्वयन कार्ययोजनाको स्वीकृति, प्रतिरक्षा नीतिको मस्यौदा निर्माण, राष्ट्रिय प्रतिरक्षा विद्यालयको स्थापनालगायत महत्वपूर्ण उपलब्धि यो समयमा भएका छन् ।

सो अवसरमा निवर्तमान रक्षामन्त्री पोखरेललार्ई प्रधानसेनापति थापाले मायाको चिनो प्रदान गर्नुभएको थियो ।  उक्त कार्यक्रममा रक्षा सचिव, बलाधिकृत रथी, रक्षा मन्त्रालयका पदाधिकारी, रथीवृन्दलगायत अधिकृत उपस्थित हुनुहुन्थ्यो ।