Monday, 18, January, 2021 info@saipalnews.com

श्रमजीवी पत्रकारको सुविधा तत्काल उपलब्ध गराउन आग्रह

काठमाडौं ६ कात्तिक । नेपाल पत्रकार महासंघले सञ्चारगृहलाई सबै श्रमजीवी पत्रकार, कामदार÷कर्मचारीको बक्यौता, नियमित पारिश्रमिक, दशैं खर्चलगायतका सेवा– सुविधाहरु तत्काल भुक्तानी गर्न माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी केही सञ्चार गृहले विगतमा उपलब्ध गराउँदै आएको दशैँ खर्च, नियमित पारिश्रमिक तथा बक्यौता भुक्तानीसमेत यसपटक नगरेको जानकारी हुन आएकोप्रति ध्यानाकर्षण भएको जनाउदै तत्काल भुक्तानी गर्न माग गर्नु भएको हो ।

उहाँले तत्काल भुक्तानी उपलब्ध नगराए श्रमको सम्मान नगर्ने सञ्चार गृहहरु विरुद्ध कठोर हुन बाध्य हुने चेतावनी समेत दिनु भएको छ । “महासंघमा प्राप्त गुनासाका सम्बन्धमा सञ्चार गृहहरुमा आकस्मिक अनुगमन गरी महासंघ तत्कालै समस्याग्रस्त सञ्चार गृहहरु केन्द्रित दबाबमूलक आन्दोलनमा उत्रने व्यहोरा पनि अवगत गराइन्छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ । महासंघले कोरोना भाइरस ९कोभिड १९० महामारीको बहानामा निष्काशन गरिएकाको पुर्नस्थापना, गैरकानुनी सरुवा रद्ध, घटाइएको पारिश्रमिक वृद्धिलगायतका श्रम समस्या समाधान गर्न पनि आग्रह गरेको छ ।

श्रमजीवी पत्रकार ऐन र त्यस अन्तर्गतका नियमावली तथा निर्णयहरु कार्यान्वयनमा सरकारी निकायको उदासिनताका कारण आम श्रमजीवी पत्रकारले कानून मै किटान गरिएका सेवा–सुविधाहरु प्राप्त गर्न निरन्तर आन्दोलित हुनुपर्ने विद्यमान परिस्थितिको अन्त्यका लागि सरकार र सरोकारवाला पक्षसँग पनि उहाँले आग्रह गर्नु भएको छ  ।