Saturday, 28, November, 2020 info@saipalnews.com

कोरोना संक्रमणका कारण पुर्व संविधानसभा सदस्य चौधरीको निधन

काठमाडौंं ११ कात्तिक | संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट मंगलबार निधन भएको पुष्टि भएको छ । सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोज तेस्रो साता उपचारका लागि कोसी अस्पताल विराटनगर लगिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए । घरमा नै नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन लगाइ उपचार गर्दा समेत सास फेर्न गाह्रो भएपछि गत असोज २ गते राति थप उपचारका लागि उनलाई बीपी प्रतिष्ठान लगिएको थियो ।
सोही दिन उनको स्वाब संकलन गर्दा असोज ३ गते रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित थिए ।
दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उनमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजिटिभ देखिएको थियो । कोरोना पोजेटिभ आएपछि प्रतिष्ठानको आइसोलेसनमा उपचारकै क्रममा उनको मंगलबार मृत्यु भएको नगर प्रमुख वसन्तकुमार मिश्रले बताए ।

चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । यससँगै सप्तरीमा हालसम्म कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस