Thursday, 26, November, 2020 info@saipalnews.com

वनमा तस्करको रजगज, साइकल र मोटरसाइकलको प्रयोग

रौतहट १८ कात्तिक । रौतहटका वनबाट काठ तस्करहरुले काठ तस्करीको लागि नयाँ जुक्ति निकालेका छन् । तस्करहरुले पहिले टायर गाडा र ट्याक्टरमा काठ तस्करी गर्ने गर्थे । तर, पछिल्लो समय काठ तस्करीका लागि साइकल र मोटरसाइकलमा प्रयोग गर्ने गरेको पाइएको छ । पछिल्ला समयमा तस्करहरुले जंगलबाट बहुमूल्य सखुवा प्रजातिलगायतका रुखहरु काटेर त्यसलाई गोलिया बनाएर साइकल तथा मोटरसाइकलमा तस्करी गर्ने गरेका छन् ।

तस्करहरुले तस्करीको लागि साधरण साइकलको स्वरुपनै परिवर्तन गरेर त्यसलाई नयाँ डिजाइन दिएका छन् । उनीहरुले तस्करीको लागि डिजाइन गरेको साइकलमा दुइचक्का बीचको त्रिभुज आकारको भाग हटाएर त्यसको ठाउँमा मोटो फलामको गोलाकार डिजाइन गरेका छन् ।

त्यसैगरी उनीहरुले साधरण साइकल प्रयोग हुँदै आएको दुबै चक्का हटाएर त्यसको सट्टामा रिक्साको चक्का प्रयोग गरेका छन् । त्यत्ति मात्र होइन काठ तस्करी गर्दा साइकल नभाचियोस् भनेर त्यसमा चारैतिर मोटो फलाम तथा रडले सर्पोट दिइएको छ । यसरी बनाइएको साइकलमा ब्रेक तथा पेडल भने राखिएको छैन । तस्करहरुले तस्करी गर्दा एकजनाले साइकल डो¥याउने अनि एकजनाले पछाडिबाट धकेल्ने र आवश्यक परे रोक्ने गरेका छन् ।

उनीहरुले एउटा साइकलबाट एकपटकमा करिब १६ क्युफिटसम्मको काठको गोलिया तस्करी गर्न सक्ने गरी साइकलको डिजाइन गरेका छन् । जंगलको बाटो ट्याक्टर वा टायर गाडाले तस्करी गर्दा अप्ठ्यारो हुने, वन रक्षकले पक्रने डर भएकाले तस्करहरुले साइकल तथा मोटरसाइकलको प्रयोग गर्ने गरेको स्थानीय भरत प्रसाद पटेल बताउँछन् ।

पछिल्लो समय रौतहटमा विभिन्न वनहरुबाट रुख काटेर काठ तस्करी गर्नेको विभिन्न समूहहरु सक्रिय भएर लागिरहेको स्थानीय बताउँछन् । जिल्लाको चन्द्रपुर, गुजरा तथा वृन्दावन नगरपालिकाका विभिन्न राष्ट्रिय तथा सामुदायिक वनहरुबाट खुलेयाम काठ तस्करी हुने गरेपनि जिल्ला वन कार्यालयले त्यसलाई नियन्त्रण गर्न नसकेको स्थानीयहरुको भनाइ छ ।चन्द्रपुर नगरपालिकाको गैडाटार, फूबारी, हिलेखोला, धन्सार, लमाहा, गुजरा नगरपालिकाको रंगपुर, चोचा एवम् वृन्दावन नगरपालिकाको बलेरीलगायतका वनहरुबाट तस्करहरुको समूहले काठ तस्करी गर्दै आएको छ ।

वृन्दावन क्षेत्रको बलेरी वनबाट वन कर्मचारीको मिलोमतोमा खुलेयाम काठ तस्करी हुने गरेको पनि स्थानीयहरुको आरोप रहेको छ । जिल्ला वन कार्यालय रौतहट अन्र्तगतको वृन्दावन सब डिभिजन वन कार्यालयकै अगाडिको बाटो प्रयोग गरेर तस्करहरुले साइकल तथा मोटरसाइकलमा काठ ओसार्दा पनि वनका कर्मचारीहरुले वेवास्ता गर्ने गरेको स्थानीयको नागेन्द्र राउतको भनाइ छ ।

सो वनबाट काठ तस्करी गर्न रौतहटका मात्र नभएर सर्लाहीका तस्करहरु पनि आउने गरेको स्थानीयको भनाइ छ । तस्करहरुले बलेरीको जंगलमा दिनदहाडै काँचा सालका रूख काट्ने र रातिको समयमा गोलिया बनाएर साइकल तथा मोटरसाइकलमा राखेर बिक्री गर्न लैजाने गरेका पाइएको स्थानीय सञ्जिव पटेलले बताए ।

आफूहरुको ठाउँबाट दैनिकजस्तो काठको तस्करी हुने गरेको तर वन कार्यालयका कर्मचारीलाई आफूहरुले खबर गर्दा पनि वेवास्ता गर्ने गरेको स्थानीय अजय कुमार पटेलको आरोप छ ।यसरी तस्करहरुले रौतहटका वनलाई आफ्नो क्रिडास्थल बनाउँदा पनि तस्करहरुलाई पक्रन नसक्नु जिल्ला वन कार्यालयको कमजोरी भएको स्थानीयको भनाइ छ ।

यता डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद सिंहले आफूहरु वन जोगाउन र तस्करी रोक्न सक्रिय भएर लागिपरेको तर, जनशक्तिको अभावले गस्ती गर्ने कार्यलाई अझ प्रभावकारी बनाउन नसकिएको बताउँछन् । जिल्ला वन कार्यालय, स्थानीय प्रहरी प्रशासनले रौतहटको वन संरक्षण गर्न तथा तस्करहरु पक्रन चासो नदिने हो भने रौहतटको वनबाट सग्ला र अग्ला रुखहरु सकिएर वन उजाड हुने स्थानीयमा चिन्ता छ ।