Thursday, 03, December, 2020 info@saipalnews.com

पानी रोक्न बनाइएको बाँध गुणस्तरहीन

गुल्मी १९ कात्तिक । धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा पानी रोक्न बनाइएको ड्याम गुणस्तरहीन हुँदा चुहिएको छ । माथिबाट आएको पानी छेकी ताल बनाउने उदेश्यले गत आर्थिक वर्षमा रेसुङ्गा पोखरी नजिकै ड्यामको निर्माण गरिएको थियो तर ड्यामको मुनिपट्टी र छेउबाट समेत पानी चुहिएर बाहिर गएपछि ड्याम अर्थहीन जस्तै भएको छ ।

गत आवमा लुम्बिनी प्रदेश सरकारबाट डिभिजन वन कार्यालयमार्फत काम हुने गरी रेसुङ्गा क्षेत्रलाई रु एक करोड बिनियोजन भयो । सो रकममध्ये जङ्गलको बीच भागदेखि यज्ञशालासम्म सिँढी निर्माणका लागि रु ८० लाख र ड्याम निर्माणका लागि रु २० लाख विनियोजन भयो । रु ८० लाखमध्ये हाल सिढी निर्माणको काम पूरा भई बचेको रकमबाट मन्दिर निर्माण गर्न शुरु गरिएको छ तर रु २० लाखबाट निर्माण भएको ड्याम भने गुणस्तरहीन हुँदा पानी चुहिएर नअडिने भएको छ ।

पोखरीनजिकै माथिबाट आएको पानी रोक्ने उदेश्यले ड्याम निर्माण गरिएको थियो । वन कार्यालयको लागत अनुमानअनुसार रु २० लाखमा तीनओटा ड्याम, पोखरीमा जाने सिँढी र गौमुखी धाराको संरक्षणको काम गर्नुपर्ने भएपनि त्यसमध्येबाट एउटा ड्यामको स्टिमेट नै हटाइएको थियो । अहिले १५० मिटरको दुरीमा दुई ड्याम निर्माण गरिएको छ । ती ड्यामले पानी नरोक्दा आलोचना शुरु भएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो ।

डिभिजन वन कार्यालयले कार्यक्षेत्रभन्दा बाहिरको सामुदायिक वनलाई काम गर्न दिएर तालको डिजाइन नै बिगारेको उहाँको आरोप छ । रेसुङ्गा नगरपालिकाका सब–इन्जिनियर चक्र केसीले पोखरीको गेटमा अहिले बनाइएका सिँढीको कुनै अर्थ नभएको बताउनुभयो ।

डिभिजन वन कार्यालयले शुरुमा रेसुङ्गा सामुदायिक वन उपभोक्ता समितिसँग कामको सम्झौता ग¥यो । उपभोक्ता समितिले स्थानीय राजन काउछालाई कामको जिम्मेवारी दिएको थियो । काउछाले फेरि दिपेश अर्याललाई ठेक्कामा दिनुभएको थियो । अर्यालले भने अनुसारको काम नगरेपछि अन्तिममा जीतबहादुर गुरुङमार्फत काम सम्पन्न गरिएको छ । सरकारबाट बिनियोजन भएको रकममा रु तीन लाख २४ हजार ९२२  श्रमदान गर्नुपर्ने थियो तर उक्त श्रमदान भने भएको छैन ।

ड्यामको लागि कार्यालयबाट रु १२ लाख ६७ हजार ६५४  भुक्तानी भएको छ । काम गुणस्तरहीन भएपछि डिभिजन वन कार्यालयले अहिले फरक तर्क गर्ने गरेको छ । कार्यालयका प्रमुख प्रभात सापकोटाले ड्यामले पानी रोक्न नभई ढल छेक्ने काम गर्ने बताउनुभयो ।