Friday, 27, November, 2020 info@saipalnews.com

केरा पकाउने च्याम्बर सञ्चालन

कैलाली १९ कात्तिक । सुदूरपश्चिममा पहिलो पटक केरा पकाउने च्याम्बर उद्योग सञ्चालनमा आएको छ । उद्योग टीकापुर २ बन्दीपुरमा सञ्चालन भएको हो । करिब ३०÷३० टनका ५ वटा चेम्बर मार्फत् केरा पकाउन सकिनेछ । उद्योगले यतिखेर परीक्षण गरिरहेको छ  । साढे ३ करोडको लगानीमा उद्योग सञ्चालन भएको उद्योगका प्रबन्ध निर्देशक वीरेन्द्र ढुङ्गानाले जानकारी गराउनुभयो । उद्योगमा रानी जमरा सिँचाइ आयोजनाले रु एक करोड ९० लाख आठ हजार ५ सय ९१ अनुदान सहयोग गरेको छ ।

केरा पकाउन विषादीको प्रयोग हुने गरेको थियो अब उपभोक्ताले विषादी रहित च्याम्बरमा पकाएको स्वस्थ केरा खान पाउने भएका छन्’’, उद्योगका निर्देशक ढुङ्गानाले भन्नुभयो, ‘‘थोरै केरा उत्पादन गर्ने कृषकलाई पनि प्रत्यक्ष लाभ हुन्छ ।’’ उहाँले च्याम्बरमा १६ देखि २३ डिग्री सेल्सियस तापक्रममा चार दिनमा केरा पकाउने सकिने बताउनुभयोे ।

टीकापुर क्षेत्रमा उत्पादन हुने सबै केरा च्याम्बरमा पकाएर बिक्री गर्ने वातावरण मिलाउँदैछौँ, एक दर्जन केरा पकाउन रु ३ देखि ५ खर्च लाग्छ’’,  ढुङ्गानाले भन्नुभयो, ‘‘च्याम्बरमा माइनस दुई डिग्री सेल्सियससम्मको व्यवस्था भएकाले कोल्ड स्टोरकारुपमा पनि प्रयोग गर्छौँ ।उहाँले आँप, गोलभेडा र मेवा पनि पकाउनुका साथै उत्पादित तरकारी भण्डारण गर्न पनि सकिने भएकाले च्याम्बरलाई बहुउद्देश्यीयरुपमा प्रयोग गर्ने योजना बनाएको बताउनुभयो ।

कर्णाली कृषि सेवा प्रालीको नाममा सञ्चालित च्याम्बर सञ्चालनमा आएपछि केरा खेती गर्ने किसान र उपभोक्ता खुसी भएका छन्  । ‘‘सञ्चालन भएपछि उपभोक्ता, केरा उत्पादक र व्यवसायीलाई प्रत्यक्ष फाइदा पुग्छ’’, केरा उत्पादक किसान टेकेन्द्र धामीले भन्नुभयो, ‘‘विषादीको युग समाप्त भएको मान्नुपर्छ र साना किसानलाई बजारको समस्या हुँदैन, अर्कोतर्फ व्यापारी पनि ठगिने समस्या हट्छ ।