Thursday, 26, November, 2020 info@saipalnews.com

हुवासमा तीन योजनाको शिलान्यास

पर्वत २५ कात्तिक । दक्षिण पर्वतको पैंयु गाउँपालिका वडा नं ४ हातेमालो चोकमा सोमवार एकैपटक तीन योजनाको शिलान्यास गरिएको छ । स्थानीय सेतीखोला गल्छिना घाटमा मोटरेवल पुल, धरपानीदेखि पैंयुकोट जोड्ने नमुना पैयूँकोट पदमार्ग ९५ कि.मी र हुवास बजार हरित बजार वाटिकाको शिलान्यास गरिएको हो । तीनवटै योजनाको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले शिलान्यास गर्नुभएको हो ।

मन्त्री लम्सालले शिलान्यास गरेसँगै तीनवटै योजनाको निर्माण शुरु भएको छ । नमुना पैंयुकोट पदमार्ग र हरित बजार बाटिका यसै वर्ष निर्माण सम्पन्न हुने भएका छन् भने मोटरेवल पुल निर्माण आगामी दुई वर्ष भित्र सम्पन्न हुने छ । दक्षिण पर्वतको मुख्य केन्द्र हातेमालोचोकलाई छिमेकी वडाहरु धरमपानी, बेउलीवास, उराम, होश्राङ्दी लगायतका वडाहरुसँग जोड्नका लागि यो पुल महत्वपुर्ण मानिन्छ । पुल नहुँदा यस क्षेत्रमा दैनिक चल्ने दर्जनौ सवारीसाधनहरु सेतीखोलामा जोखिम मोलेर वारपार गर्दै आएका थिए ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लम्सालले कुनै समय जिल्लाको कालापानी भनिने पैंयु क्षेत्र विकासका दृष्टिकोणले जिल्लाकै सुगम र अग्रणी स्थानमा पुगेको बताउनुभयो । कार्यक्रममा महाशीला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले महाशीला र पैंयु गाउँपालिकाका कतिपय साझा योजनाहरु र धेरै विषयमा सहकार्य भैरहेको बताउँदै दुई पालिकाको आवश्यक समन्वय र सहकार्यलाई बढाउँदै लगिएको बताउनुभयो । पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले पछिल्लो समय पैंयुको विकासले फड्को मार्दै गएको बताउनुभयो ।