Thursday, 26, November, 2020 info@saipalnews.com

सेयर बजार परिसूचक नेप्से ४ वर्षपछि १७०० अंक माथि, आज एकैदिन ४ अर्ब बढीको सेयर कारोवार

काठमाडौंं २६ कात्तिक | सेयरबजारमा बजार परिसूचक नेप्सेमा आज पनि उछाल आएको छ । नेप्से आज मात्रै २८.८९ अंकले बढ्दा सेन्सिटिभ सूचक पनि ५.२३ अंकले उकालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज पनि चार अर्ब ९ करोडको सेयर किनबेच भएको छ। अघिल्लो दिन पनि चार अर्ब बढीको सेयर कारोबार भएको थियो।
बुधबार कुल १ सय ९५ कम्पनीको १ करोड २५ लाख २३ हजार कित्ता सेयर बिक्री भएको छ। आज कुल बजार पुँजीकरण २२ खर्ब र तर बजार पुँजीकरण ७ खर्ब ९७ अर्बको भएको छ। आज निर्जीवन बीमा, उत्पादन र व्यापारमा लगानीकर्ता आकर्षित भएका छन्। कुल १२ समूहमध्ये फाइनान्सकोबाहेक अरुको कारोबार सूचक पनि हरियो छ।
आजको कारोबारमा साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर १० प्रतिशतले वृद्धि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। त्यस्तै पाँचवटा कम्पनीको ९ प्रतिशत माथि र दुईवटाको आठ प्रतिशत बढीले सेयर मूल्य बढेको छ। गुमाउनेमा भने आईसीएफसी अगाडि छ।
आज कारोबारतर्फ भने एनटीसीको २५ करोडको सर्वाधिक कारोबार भएको छ। त्यस्तै हिमालयन डिस्टिलरीको १८ करोड, एनआईसी एसियाको १५ करोडको कारोबार भएको छ। त्यस्तै नागरिक लगानी कोषको १५ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोडको सेयर कारोबार भएको छ।