Thursday, 03, December, 2020 info@saipalnews.com

नेपाल संवत् ११४१ आजबाट सुरु

काठमाडौं १ मंसिर | नेपाल संवतको नयाँ वर्ष आजदेखि सुरु भएको छ । आज बाट नेसं ११४० समाप्त भइ नेसं ११४१ सुरु भएको हो ।
नेपाल संवत कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन मनाइने गरेको छ । नेसं ११४१ का अवसरमा आज देशभर विविध कार्यक्रम गरिएता पनि यस वर्ष कोरोना महामारीका कारण भीडभाड हुने कार्यक्रम भने आयोजना नगरिने जनाइएको छ ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेसंको सुरुवात गरेका थिए ।
गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए भने विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।
नेपाल संवतको अवसरमा प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतले शुभकामना व्यक्त गरेका छन् ।