Saturday, 23, January, 2021 info@saipalnews.com

सीमावर्ती क्षेत्रका प्रत्येक नौ किलोमिटरमा बिओपी स्थापना

सर्लाही १५ मंसिर । भारतसँग सीमा जोडिएको सर्लाहीसहित प्रदेश नं २ का आठ जिल्लाका सीमावर्ती क्षेत्रमा प्रत्येक नौ किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी सीमा सुरक्षा पोष्ट स्थापना गरिएको छ । सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना भएको हो ।

प्रदेश नं २ का आठ जिल्लामा हाल ६३ वटा बिओपी रहेका छन भने भारतसँग ४६४ किलोमिटर खुल्ला सिमाना जोडिएको भूभाग रहेको छ । ५१ किलोमिटर खुल्ला सिमाना रहेको सर्लाहीमा नौवटा बिओपी छन् । प्रदेश नं २ का आठ जिल्लामा पर्सामा १३ वटा बिओपी रहेका छन् । त्यसैगरी बारामा सात, रौतहटमा पाँच,  महोत्तरीमा आठ ,धनुषामा सात, सिरहामा सात र सप्तरीमा सात वटा विओपी छन् ।

सीमा क्षेत्रमा हालसम्म ६ देखि ९ किमीको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी रहेको छ । सीमापारि भारतीय भूमिमा प्रत्येक पाँच किलोमिटरको दूरीमा त्यहाँको सीमा सुरक्षा बल ९एसएसबी०को पोष्ट सञ्चालनमा रहेको जनाइएको छ ।

छिन्नमस्ता वाहिनीका वाहिनीपति चन्द्रप्रकाश गौतमका अनुसार प्रत्येक सातदेखि नौ  किलोमिटरको दूरीमा बिओपी स्थापना गरिएको छ । पछिल्लो समयमा केही बिओपी थपिएपछि भारतसँग ४६४ किलोमिटर खुल्ला सिमाना रहेको प्रदेश नं २ मा अब सातदेखि नौ किलोमिटरको दूरीमा बिओपी स्थापना भएको हो । सीमाको सुरक्षाका साथै चोरी, तस्करीजस्ता अवैध गतिविधि रोक्न भन्दै सिमामा बिओपिहरु थप गरिएको हो ।

नेपाल सरकारले भारत र चीनसँग सीमा जोडिएको नेपालको सीमावर्ती क्षेत्रमा करिब ५००  बिओपीको स्थापना गर्ने लक्ष्य राखेको छ । सङ्घीय सरकारको योजना अनुसार प्रदेश नं २ मा अझै ९२ वटा बिओपी स्थापना हुनेछन् । जग्गा विवाद नरहेका स्थानहरुमा केही समयमै बिओपीहरु स्थापना हुने वाहिनीपति गौतमले बताउनुभयो ।