Tuesday, 26, January, 2021 info@saipalnews.com

विष्णु पौडेलको ‘बर्थ डे केक’ खाएपछि बालुवाटारमा बाझाबाझ

काठमाडौं १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भयो । अध्यक्ष ओलीले प्रचण्डलाई हप्काएपछि अरु नेताहरु पनि केपी ओलीमाथि खनिए । धुम्बाराहीमा बस्ने भनिएको बैठक ‘सुरक्षा थ्रेट’ रहेको भन्दै बालुवाटारमै सारिएको थियो । बैठकको सुरुमा प्रधानमन्त्री ओलीले महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको ६२ औं जन्मदिन भएकाले शुभकामना दिऔं भन्दै केट काट्न लगाएका थिए ।

केक खाउञ्जेलसम्म हँसिलै देखिएका नेताहरु बैठक शुरु भएपछि अहिलेसम्मकै सबैभन्दा खरो भनाभनमा उत्रिए । अन्ततः बैठक बाझाबाझमै सीमित भयो र बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भयो । केक काटिसकेपछि अध्यक्ष ओलीले बैठक सुरु भएको बताए । र, कार्यकारी अध्यक्ष प्रचण्डतिर हेर्दै आजको एजेण्डाचाहिँ के हो नि ? भनेर प्रश्न गरे । कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी जटिल मोडमा रहेको भन्दै दुबै प्रतिवेदनमाथि छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने बताए ।

तर, ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव लाञ्छनापत्र मात्रै भएको र यसले पार्टीको शाख गिराउने काम गरेको प्रतिक्रिया दिए । यसमाथि पार्टीमा छलफल हुन नसक्ने भन्दै उनले प्रस्ताव फिर्ता लिएर प्रचण्डले माफी माग्नुपर्ने मंसिर १३ कै भनाइ दोहोर्‍याए । दुई नेताहरुको पत्र र प्रचण्डको प्रस्तावलाई बुकलेटका रुपमा प्रकाशित गरेर वितरण गरेकोमा पनि प्रचण्डले माफी माग्नुपर्ने ओलीले अडान दोहोर्‍याए ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफ्नो प्रस्तावमा उल्लेख गरेजस्तै पार्टीमा बहुमत–अल्पमतका आधारमा नभई सहमतिबाट मात्र निर्णय हुनुपर्ने बताए । सहमतिका आधारमा अगाडि नबढ्ने हो भने पार्टी एकता कायम रहन नसक्ने बताउँदै ओलीले बैठकमा भने, ‘अन्तरिम कमिटीमा बहुमत–अल्पमत भन्ने हुँदैन र मान्दिनँ पनि ।’

बैठकको सुरुमा केहीबेर बोलेका ओलीले प्रचण्डले आफूमाथि लगाएको आरोपको खण्डन गर्दै ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ’ भने । उनले त्यसो भनिरहँदा प्रचण्ड भने मुसुमुसु हाँसिरहेका थिए । त्यो देखेपछि आक्रोशित बनेका ओलीले भने, ‘किन हाँसेको ? म गम्भीर कुरा गरिरहेको छु ।’

त्यसपछि कार्यकारी अध्यक्ष प्रचण्डले बोले । अध्यक्ष ओलीले उत्तेजित बनाउने गरी बोलेको तर आफूहरु उत्तेजित नभई शान्तपूर्वक छलफल गरेर निष्कर्षमा पुग्न चाहेको प्रचण्डले बैठकमा बताए । उनले यसो भनिरहँदा अध्यक्ष ओलीले तत्कालै प्रतिवाद गरे । जे मन लाग्यो त्यही बोल्ने रु भन्दै उनी प्रचण्डमाथि खनिए ।

त्यसपछि बैठकको माहौल थप बिग्रियो । ओली सँगसँगै प्रचण्ड पनि जंगिए । वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले पनि ओलीको अर्को विरोध गरे । प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘बोल्न पनि नपाइने रु’ भन्दै ओलीको प्रतिवाद गरे ।

ईश्वर पोरेखलले पनि बोल्नै नपाउने त भएन भन्दै बैठकमा ओलीको आलोचना गरेका थिए । नेताहरुले एकसाथ लागेर ओलीको प्रतिवाद गरेपछि प्रचण्डले सम्हालिएर आफ्ना कुराहरु राखे । ‘पार्टीमा बोल्नसमेत नदिने स्थिति छ, आएका प्रस्तावहरुमाथि छलफलै हुन्न भन्नुहुन्छ, साथीहरु आफ्नो दृष्टिकोण राख्नुस्’ भन्दै प्रचण्डले छलफलका लागि ‘फ्लोर ओपन’ गरे ।

सचिवालय स्रोतका अनुसार वरिष्ठ नेता नेपालले छलफल गर्ने कि नगर्ने भन्ने प्रश्नै उठाउन आवश्यक नरहेको बताए । बैठकमा आएका प्रस्तावहरुमाथि छलफल हुर्नैपर्ने नेता नेपालले बताए । उपाध्यक्ष गौतमले छलफल त सुरु भइसक्यो र अध्यक्ष केपी कमरेडले पनि भाग लिइसक्नुभयो भने ।

वरिष्ठ नेता खनालले बैठकमा आएका सबै प्रस्ताव पार्टीको सम्पत्ति भइसकेको बताए । प्रवक्ता श्रेष्ठले छलफल गर्न पाइन्न भन्ने पनि हुन्छ र रु भन्दै प्रश्न गरे । नेता ईश्वर पोखरेलले प्रस्तावहरु आएपछि त छलफल हुने नै भयो भने । रामबहादुर थापा बादलले पनि छलफल त सुरु भइसकेको छ भने । महासचिव विष्णु पौडेलले भने यसबारे केही नभन्ने बताए ।

त्यसपछि प्रचण्डले फेरि बोले । बहस र छलफल गरेर पार्टीलाई एउटा निष्कर्षमा पुर्‍याउन चाहेको उनले बताए । आफूहरुले २२ कात्तिकमा सचिवालय बैठकका लागि सहमति माग गर्दै पत्र बुझाएको, तर ओलीले १० पन्ने जवाफ लेखेर फायर खोलेको प्रचण्डले बताए । र, आफूले त्यसको प्रतिवाद मात्र गरेको प्रचण्डले बैठकमा बताए ।

केपी ओली कुण्ठाग्रस्त बनेको र व्यक्तिवादी भएको भन्दै प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको आलोचना गरेका छन् । साथै उनले ३७ पृष्ठको प्रस्तावमा ओलीले आफूमाथि लगाएका आरोप र उठाएका प्रश्नहरुको बुँदागत रुपमा लिखित जवाफ दिने प्रचण्डले बताएका छन् । मंगलबारको बैठकमा भनाभन मात्रै भयो, प्रचण्डले ओलीको डकुमेन्टको औपचारिक जवाफ पेश गरेनन् ।

स्रोतका अनुसार मंगलबारको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल प्रधानमन्त्री ओलीविरुद्ध कडारुपमा प्रस्तुत भएका छन् । । सहमतिका आधारमा मात्र निर्णय हुनुपर्छ भन्ने ओलीको अडानको खनालले कडा आलोचना गरे । सकेसम्म सहमति, नभए बहुमतबाट निर्णय हुने भन्दै उनले दुनियाँमा कहीँ नभएको अभ्यास हुनुपर्छ भन्दा नीतिगत संकट आउने बताए । सहमति भनेको के हो रु यसको परिभाषा हुनुपर्ने खनालले बताए ।

उपाध्यक्ष गौतमले पनि बैठकसँगै अनौपचारिक छलफलहरु गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने बताए । ईश्वर पोखरेलले पनि अनौपचारिक सम्वादमा जोड दिए । प्रवक्ता श्रेष्ठले अनौपचारिक सम्वादहरु गर्नुपर्ने, तर त्यसका नाममा औपचारिक बैठकलाई रोक्न नमिल्ने धारणा राखेको एक नेताले बताए ।

वरिष्ठ नेता नेपालले भने बैठकमा लामै बोलेका छन् । उनी यो पार्टी फुटाउने भन्ने को हो भन्दै कड्किएका थिए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली व्यक्तिवादी तथा गुटवादी भएको र पार्टीमा अहिले आएको समस्याको जड केपी ओली नै भएको नेता नेपालले बताए ।

बैठक सार्ने ओली पक्षको प्रयास

नेताहरुले कडा–कडा कुरा गरेपछि बैठकको अन्त्यमा ‘अब के गर्ने’ भन्ने छलफल भएको थियो । प्रधानमन्त्री ओलीनिकट नेताहरुले पार्टीका सबै बैठक ५र१० दिन रोकेर सहमति खोज्ने प्रस्ताव राखेका थिए ।

तर, अरु नेताहरुले अनौपचारिक सम्वाद पनि गर्ने तर बैठक रोक्न नमिल्ने धारणा राखे । बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल दुबैले बैठक रोकेर ओली पक्ष भाग्न खोजेको आरोप लगाए । अध्यक्षद्वय र महासचिवसमेत तीनैजनाले चाहँदैमा पनि अब बैठक नरोकिने भन्दै बरिष्ठ नेता नेपालले बैठकमा भने, ‘तपाईहरु तीनजना भनेको अल्पमत हो, तपाईहरुले स्थगित भन्दैमा बैठक स्थगित हुँदैन ।

नेताहरुको धारणा सुनेपछि कार्यकारी अध्यक्ष प्रचण्डले भोलि बुधबार १ बजे फेरि सचिवालय बैठक बस्ने जानकारी दिए । तर, अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओली ‘यस्तो बैठक केका लागि ?’ भन्दै उठेको एक नेताले सुनाए । मंगलबारको बैठकको सार के हो ? नेकपा उपाध्यक्ष वामदेव गौतमले भने, ‘तिक्ततातर्फ जान लागेको पार्टीको आन्तरिक अवस्थालाई मित्रतातर्फ फर्काउने कोशिस भएको छ । आजको सचिवालय बैठकको सार यही हो ।