Tuesday, 26, January, 2021 info@saipalnews.com

केपीलाई माधवको चेतावनी– पूर्वएमाले एकातिर हुन्छ भन्ने नसोच्नोस् !

काठमाडौं १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच लिखितरमौखिक जुहारी चलिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल लगभग मौन रहँदै आएका थिए । तर, मंगलबार बालुवाटारमा बसेको सचिवालय बैठकबाट नेता नेपालले औपचारिकरुपमै मौनता तोडेका छन् ।

मंगलबारको बैठकमा वरिष्ठ नेता नेपाल केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । उनले ओलीकै कारण पार्टी ध्वस्त हुन लागेको बताए । र, अब पार्टी एकता कसैले तोड्न नसक्ने, तोड्न नदिइने उनले बताए ।

पछिल्लो समय प्रचण्डसँगको जुहारीका क्रममा प्रधानमन्त्री ओलीले पूर्वएमाले खेमाका नेताहरुलाई आलोचना नगर्ने र आफूतिर नजिक ल्याउने रणनीति अपनाउँदै आएका छन् । यही सिलसिलामा मंसिर १३ को बैठकमा प्रस्तुत ३८ पृष्ठ लामो प्रस्तावमा पनि प्रधानमन्त्री ओलीले प्रचण्डलाई मात्रै गाली गरेका छन् । र, प्रतिवेदनमा ओलीले माधव नेपाल, झलनाथ खनालहरुलाई फकाउने प्रयास गरेका छन् । यस अतिरिक्त ओली गुटका सबै नेताहरु माधव नेपाल पक्षलाई फकाउनतर्फ लागिरहेका छन् ।

आफ्नो ३८ पन्ने प्रतिवेदनमा ओलीले प्रचण्डलाई स्पष्टरुपमा भनेका छन्, ‘सम्झिनुहोस् त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साबिक एमालेको एकजना भए पनि बढी सङ्ख्या छ । बहुमतको त्यो अङ्कगणित तपाईंका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो ?

यसरी ओली पक्षले सचिवालयदेखि स्थानीय कमिटीसम्म पूर्वएमालेको बहुमत रहेको बताइरहेकै बेला मंगलबारको बैठकमा वरिष्ठ नेता नेपालले अब पूर्वएमालेहरु एकातिर हुन्छन् भनेर नसोच्न ओलीलाई चेतावनी दिएका हुन् ।

वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई पार्टी फुट्छ र एमाले एकातिर, माओवादी एकातिर हुन्छ भनेर नसोच्न चेतावनी दिँदै केपी ओली व्यक्तिवादी, मपाइँवादी एवं गुटवादी भएकाले नै पार्टीमा समस्या आएको बताए ।यो पार्टी फुटाउने भन्ने को ? पार्टी फुट्छ भनेर तर्साउने को ? भन्दै नेता नेपालले बैठकमा प्रश्न गरे । उनले भने, ‘पार्टी फुट्छ अनि एमाले एकातिर माओवादी अर्कातिर हुन्छ भन्ने नसोचे हुन्छ ।’

पूर्वमाओवादी र पूर्वएमालेबीच भएको पार्टी एकता दुई अध्यक्षबीचको एकता नभएको नेता नेपालले बताए । ‘के हिजो माले र मार्क्सवादीबीचको एकता मदन भण्डारी र मनमोहनबीचको एकता थियो रु त्यो कसको एकता थियो ? बैठकमा नेता नेपालले भने, पार्टीले कसैलाई जिम्मा दिन्छ र त्यसैका आधारमा एकता हुन्छ । एकता भइसकेपछि पार्टी विधान र प्रतिवेदनका आाधरमा चल्छ, अहिले नेकपामा पूर्वएमाले र पूर्वमाओवादी भन्ने नै छैन, विघटन भइसक्यो ।’साभार अनलाइनखबर ।