Thursday, 22, April, 2021 info@saipalnews.com

दिगो लाभ पुग्ने विकास पूर्वाधार योजना छनोट गर्न सक्नुपर्छः उपाध्यक्ष प्राडा कँडेल

मकवानपुर १६ मंसिर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले प्रदेश नीति तथा योजना आयोगले त्यहाँका जनतालाई दिगो लाभ पुग्ने विकास पूर्वाधार योजना छनोट गर्दा स्थानीय तह र प्रदेश सभा सदस्यसंग सहकार्य गरेर अघि बढनुपर्ने बताउनुभएको छ ।

वाग्मती प्रदेश नीति तथा योजना आयोगद्वारा हेटौँडामा आयोजित दुई दिने प्रथम चौमासिक समीक्षा गोष्ठीको आज समापन कार्यक्रममा उहाँले राष्ट्रिय गौरवको आयोजना र विकास पूर्वाधार योजनालाई छनौट गर्दा जिल्लाको भौगोलिक अवस्थालाई मध्यनजर गर्नुपर्ने तथा तोकिएको निश्चित समयभित्र गुणस्तरीय निर्माण सम्पन्न गर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो ।

उपाध्यक्ष प्राडा कँडेलले जिल्लामा निर्माणाधीन योजनाको अनुगमन गर्ने प्रणालीलाई अझ बढी सबल र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै योजना निर्माणमा देखिएको बेरुजु फस्र्यौटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नै बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले स्थानीय तहसँग समन्वय र समझदारीका साथ राष्ट्रिय गौरवको आयोजना छनौट गर्ने प्रक्रियालाई सहजीकरण गरिएको उल्लेख गर्दै आगामी आव २०७८÷७९ देखि प्रोजेट बैंकमार्फत योजनाको छनौट, बजेटको बाँडफाँड गरिँदा निर्माणाधीन योजनाबीचैमा अलपत्र नहुने बताउनुभयो ।