Wednesday, 20, January, 2021 info@saipalnews.com

शवबाहन खरिदका लागि जनस्तरबाट सहयोग जुट्दै

कैलाली २० मंसिर । टीकापुर अस्पतालमा शवबाहन खरिदका लागि जनस्तरबाट आर्थिक सहयोग सङ्कलन अभियानको काम थालिएको छ । अस्पतालमा शवबाहन नहुँदा समस्या हुँदै आएकामा ह्युमानिटी फाउण्डेशन नेपाल र टीकापुर सरोकार समूहको अगुवाइमा आर्थिक सहयोग सङ्कलन अभियान थालिएको हो ।

टीकापुर अस्पतालबाट चल्ने अहिले पनि आधा दर्जन एम्बुलेन्स छन् । एम्बुलेन्सले शव बोक्न मान्दैनन् । एम्बुलेन्सले शव बोक्न नमानेपछि ट्र्याक्टर वा टिपरमा बोक्नु पर्ने समस्या रहँदै आएको छ ।

अस्पतालले सम्बन्धित निकायसँग समन्वय गर्दा पनि शवबाहनको व्यवस्थापनका लागि कुनै पहल हुन नसकेको बताउँदै अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले भन्नुभयो, “ ह्युमानिटी फाउण्डेशन र टीकापुर सरोकार समूहसंँग समन्वय गरी शवबाहन खरिदका लागि  आर्थिक सहयोग सङ्कलन अभियान थालिएको छ ।

“शवबाहनका लागि हामीले सङ्घ तथा प्रदेश सरकारसंँग पटकपटक आग्रह गर्दा पनि सुनुवाइ भएन”, उहाँले भन्नुभयो, “टीकापुरका समाजसेवी हिक्मत थापासँगको छलफलपछि अन्तिममा ह्युमानिटी फाउण्डेशन र टीकापुर सरोकार समूहसँगको समन्वयमा जनस्तरबाट आर्थिक सहयोग सङ्कलन अभियान थालिएको हो ।

फाउण्डेशनका संस्थापक सदस्य हिक्मत थापाले अहिलेसम्म रु १६ लाखभन्दा बढी रकम सङ्कलन भइसकेको जानकारी दिदैं रु २२ लाखदेखि २५ लाखसम्म सङ्कलन भएपछि हामीले अभियानलाई रोक्छौँ भन्नुभयो ।